विराटनगर । हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा मानिसहरुलाई फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न `विश्व फोटोग्राफी दिवस´मनाइन्छ।
आजको दिन विश्वभरका फोटोग्राफरहरुले आफुले खिचेका केहि उत्कृष्ट फोटोहरु दुनिया सामु प्रस्तुत गर्ने गर्दछन्। आफ्नो तस्वीर प्रस्तुत गर्नुको साथसाथै अरुले प्रस्तुत गरेको तस्वीर हेरेर त्यसको मर्म र भाव बुझ्न खोज्छन्। संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो। त्यसबेला जोसेफ नाइस्फोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए। हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो। त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो।
फोटोग्राफीको यो विकासले थुप्रै इच्छुक मानिसहरुलाई अभिव्यक्त हुन मदद पुर्याएको छ। सामाजीक सञ्जालले पनि यसमा ठुलो भूमिका खेलेको छ। अहिले सामाजीक सञ्जालको अवस्था यस्तो भएको छ कि विश्वभर एक मिनेट मै पनि लाखौ फोटोहरु कुनै न कुनै माध्यमबाट अपलोड भैरहेका हुन्छन्।