विराटनगर । मोरङको पथरीशनिश्चरे–६ का रोहिन मण्डलसहित तीनजनालाई औषधी व्यवस्था कार्यालय विराटनगरले नियन्त्रणमा लिइएको छ । मण्डलले आफ्नो रोहिन सामुदायिक क्लिनिकको आडमा बिना इजाजतको औषधी ल्याएर घरबाट बिक्री गर्ने गरेको पाइएपछि उनीसहित अन्य दुईजनालाई पक्राउ गरिएको हो ।
मण्डलले बिक्री गर्ने औषधी सेवन गर्ने गरेको आरोपमा लेटाङ ३ का २१ वर्षीय असन राई र लेटाङ–७ का २० वर्षीय दिनेश लिम्बुलाई समेत पक्राउ गरिएको औषधी व्यवस्था कार्यालय विराटनगरका सुचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिएका छन् ।
मण्डलले बिना इजाजतको औषधी बिक्री गरेको सुचनाका आधारमा उनको घरमा कार्यालयको टोलिले अनुगमन गरेको थियो । त्यस क्रममा १८४ पत्ता औषधी बरामद भएको थियो ।
लागुऔषध प्रयोगकर्ताले सेवन गर्ने यो औषधी बिक्री गरेको पाइएपछि मण्डल र सेवनकर्ता राई तथा लिम्बुलाई पक्राउ गरेर पाँचदिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको थुनुवा कक्षमा राखिएको छ । उनीहरु विरुद्ध औषधी ऐन २०३५ अनुसार कारवाही हुने बताइएको छ ।