दुई अर्ब ५० करोड लगानीमा नयाँ फलामे उद्योग स्थापना

दुई अर्ब ५० करोड लगानीमा नयाँ फलामे उद्योग स्थापना

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा स्थापना भएको स्वस्तिक रोलिङ उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । दुहबी नगरपालिका वडा नम्बर १ परास्टोकीमा १० बिघा क्षेत्रफलमा २ अर्ब ५० करोडका लगानीमा स्थापना गरिएको उद्योगले ‘बजरङ्ग ब्रान्ड’मा टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिमको उत्पादन सुरु गरेको हो ।

आफ्नै ‘मेल्टिङ युनिट’ भएको उद्योगले उत्पादन गर्ने एङ्गल, च्यानल र आई बिमको प्रयोग साना–ठुला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, साना–ठुला सेड बनाउन प्रयोगमा आउने उपयोगी फलामे सामाग्री हो ।

गोल्छा अर्गनाइजेसनका २ घराना राजकुमार गोल्छा ग्रुप तथा हितेश–हिमांशु गोल्छाको हुलास स्टिल समूह र रमेश राठीको स्वस्तिक समूह, विराटनगरका युवा व्यवसायी जीवन रिजाल र इन्तकाब अहमद मियाँको साझेदार लगानीमा उद्योग स्थापना भएको छ ।
स्वस्तिकबाट व्यावसायिक उत्पादन सुरु भएको उद्योगका सञ्चालक रमेश राठीले जानकारी दिनुभयो । उद्योग विभागबाट नेपाल गुणस्तर चिह्न प्राप्त गरेर परीक्षण उत्पादनपछि व्यवसायिक उत्पादन थालिएको राठीले जानकारी दिनुभयो । उद्योगमा २ अर्बको फिक्स लगानी र ५० करोडको चालु पूँजीमा व्यावसायिक उत्पादन थालिएको छ । उद्योगको उत्पादन–क्षमता प्रति दिन ५०० टनको छ ।

उद्योगले टीएमटीको उत्पादन र विक्री वितरणलाई बढी जोड दिइने भएको छ । उद्योगले ७ देखि ४० एमएम सम्मका टीएमटीको उत्पादन गर्दछ । यो उद्योग नेपालमा सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिको भएको दावी छ । उद्योगले उत्पादन गरेको टीएमटीको ग्रिपिङ उच्चस्तर दावी गरिएको छ । उत्पादित टीएमटीको प्रयोग ठुलाठुला जलविद्युत् आयोजना, सडक, बहुतले भवन, पुलपुलेसा र सबै खाले प्रोजेक्टमा गर्न सकिने राठीको भनाई छ ।
उद्योगका मुख्य कच्चा पदार्थमध्ये आइरन स्क््रयाप (फलामे पत्रु) नेपालमै उपलब्ध हुने भनाई छ । स्पन्ज आइरजन र पिग आइरन भने भारतबाट आयात गरिनेछ । स्वस्तिकले अन्य फलामे उद्योगलाई बिलेट विक्री गर्नेछ । उद्योगको मुख्य बजार प्रदेश नम्बर १ र मधेस प्रदेश हुनेछ ।

स्वस्तिक रोलिङले आफ्नै मेल्टिङ यूनिट समेत रहेको छ । पूर्वमा दुईवटा उद्योगले मेल्टिङ युनिट सञ्चालनमा ल्याएका छन् । दुई वर्षदेखि मुरारका समूहको पशुपति आइरनले मेल्टिङ यूनिट सञ्चालनमा ल्याएको थियो । शारडा ग्रुप र एके राठी समूहको प्रिमियर स्टिल र राजलक्ष्मी गोल्छाको हुलास वायरले मेल्टिङ युनिट स्थापनाको काम गरिरहेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्