विराटनगरको बेथितीमाथि संस्थागत भण्डाफोर

विराटनगरको बेथितीमाथि संस्थागत भण्डाफोर

स्थानीय तह निर्वाचनको पहिलो कार्यकालका लागि निर्वाचित विराटनगरका मेयर भीम पराजुलीको दैनिक कार्यसञ्चालनका विषयमा महानगरपालिकावासीले चित्त बुझाएका थिएनन् । महानगरवासी मात्रै नभई कार्यालयका एकाध कर्मचारी बाहेक अन्य खुशी पनि थिएनन् । महानगर सञ्चालनको विषय विवादित थियो । स्थानीय तह सञ्चालनको प्रावधान मिचेर काम गर्ने गरेको, सस्तो लोकप्रियताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप सर्वव्यापी थियो ।

आम नागरिकले लगाउँदै आएको आरोपको जवाफ पराजुलीले दिनुपर्ने कहिल्यै ठानेनन् । आफ्नो कार्यकाल सकिएपछि गत बैशाख ३० गते निर्वाचित जनप्रतिनिधिहरु महानगरपालिका सम्हाल्ने अभ्यास गरिरहेका छन् । उनीहरुले निर्वाचनको बेला अनेक आश्वासन बाँडेका छन् । बाँडेका आश्वासन पूरा गर्न अनेक दाउ खोजिरहेका छन् । तर, अघिल्लो कार्यकालमा लागेको बेथितीको चाङ्ग नाघ्न वा छिचोल्न सकिरहेका छैनन् ।

यतिबिघ्न समस्या थोपरिएको महानगरपालिका भित्र पसेपछि प्रमुख नागेश कोइरालाले श्वेतपत्र सार्वजानिक गरेका छन् । जसमा आफ्नै पार्टीबाट निर्वाचित पूर्वमेयर पराजुलीको बेथितीमाथि संस्थागत भण्डाफोर गरिएको छ । कोइरालाले जारी गरेको श्वेतपत्रले पराजुलीको कार्यकालको समिक्षा आम नागरिकसँग मिल्नेशैलीमा गरिएको छ । महानगरपालिकामा कर्मचारी नियुक्ति, कार्यालयको अधिकार क्षेत्र, कार्यबोझ, राजश्व क्षमता र खर्चको आकार, सङ्गठन तथा व्यवस्थापन जस्ता क्षेत्रमा गरिएको कमजोरी औल्याइएको छ ।

निश्चित स्वार्थ समूह हावी गराउन गरिएको कामले अहिले असजिलो बनाएको सिधा आरोप मेयर कोइरालाले लगाएका छन् । कर्मचारी नियुक्ती, सार्वजानिक सम्पतिको मनपरी बाँडफाँड, स्रोत व्यवस्थापन बिना योजना छनौट, फोहोरमैला व्यवस्थापन योजनाबिहीन जस्ता आरोप छन् । श्वेतपत्रले संस्थागत रुपमा हुने बेथितीलाई उजागर संस्थागत रुपमै गरेको छ ।

समग्रमा महानगरपालिकाको पहिलो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले विराटनगरलाई नै पछाडी धकेल्ने भूमिका निर्वाह गरेको श्वेतपत्रको उल्लेखित विषयहरुले समेटेको छ । काँग्रेसबाटै निर्वाचित पराजुलीलाई काँग्रेसकै कोइरालाले यस्तो आरोप लगाउनुले उनको काम गर्ने शैलीमाथि प्रश्न खडा गरिदिएको छ । श्वेतपत्र जारी गरेको महानगरपालिकाको अहिलेका मेयरले त्यो कार्यकालको समस्यालाई अहिले दोहोरिन दिनु हुँदैन । कुनै काम गर्ने अवस्थामा त्यसको बहुपक्षिय दृष्टिकोण संलग्न गराउन सक्नुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्