विराटनगर । नेपाल रेडक्रस सोसाइट मोरङ, विराटनगरस्थित क्षेत्रीय रक्तसञ्चार सेवाको बेथितीले सीमा नाघेको छ । बिरामीलाई आवश्यक पर्ने ‘ब्लडग्रुप म्याचिङ्ग’ मा कर्मचारीको हेलचेक्राँई सीमा नाघ्दा रेडक्रसको मात्रै भरपर्ने अवस्था कमजोर बन्दै गएको हो ।
क्षेत्रीय रक्तसञ्चार सेवाका प्रमुख शिवानन्द यादवकै भनाई अनुसार पनि कमजोरी बारम्बार दोहोरिने गरेको छ । जसलाई सच्याउनका लागि ‘क्रस म्याचिङ’मा सम्बन्धित अस्पतालले समेत ध्यान दिनुपर्ने जरुरी छ । यादवले रेडक्रसको क्रस म्याचिङ्ग र ब्लड ग्रुप रिपोर्टलाई आधार मानेर बिरामीलाई रगत चढाउन नमिल्ने संकेत गरेसँगै आम सर्वसाधारणले ध्यान दिनुपर्ने देखिएको छ ।
घटना साउन २६ गतेको थियो । सुनसरी इनरुवा–५ का सन्तोष कोइरालाले आफ्नी श्रीमतीको प्रसुती गराउन सप्तकोशी अस्पताल विराटनगरका भर्ना गरेका थिए । त्यस क्रममा चिकित्सकले रगत आवश्यक पर्ने सुझाव दिए । सुझावका आधारमा कोइराला ‘क्रस म्याचिङ्ग’का लागि रेडक्रस गए । त्यहाँका कर्मचारीले रिपोर्ट दिए ‘बी’ पोजेटिभ ।
बिरामीलाई रगत आवश्यक परिसकेको थियो । तर, अस्पतालले पनि ब्लडग्रुप म्याच गरिरहेको थियो । त्यस क्रममा ‘एबी’पोजेटिभ देखियो । चिकित्सकले रेडक्रससँग फरक पर्न गएकोले पुनः परीक्षण गराउनु पर्ने भन्दै कोइरालालाई भनेका थिए । उनी पुनः परीक्षणका लागि पुगे ।
रक्तसञ्चारमा हाई काड्दै मोवायल हेरेर बसिरहेका कर्मचारी बल्लतल्ल उठेर पुनः परीक्षण गरेका थिए । त्यस क्रममा ‘एबी’ पोजेटिभ रिपोर्ट दिए । सेवाग्राही कोइरालाले यस्तो कसरी हुनसक्छ भन्दै प्रश्न गर्दा रक्तसञ्चारका कर्मचारीले कहिले काँहि हुने गरेको भन्दै हल्का जवाफ दिएका थिए ।
अस्पतालको रिपोर्ट भन्दा रेडक्रसको रिपोर्ट बढी भरोसायोग्य र आधिकारिक मानिन्छ, कोइरालाले भने यहि मान्यता सबैले राख्दछन्, तर अबदेखि रक्तसञ्चारप्रतिको भर छैन । कोइरालाले रक्तसञ्चारको मात्रै भरपर्ने हो भने धेरै बिरामीलाई फरक ब्लड ग्रुपको रगत चढाइने र अस्पतालमै मृत्यु हुने स्थिति हुने अवस्था रहेको बताएका छन् ।
रेडक्रसका कर्मचारी मोवायलमा झुण्डिएर काममा दृढ देखिदैनन् । जसका कारण सेवाग्राही पुग्दा राम्रो रेस्पोन्स समेत नगर्ने गरिएको कोइरालाको बुझाई छ । विराटनगरको रक्तसञ्चारको मात्रै भर पर्दा बिरामी अस्पतालमा मृत्यु हुने र जसको दोष अस्पताललाई जाने गरेको उनले बताएका छन् ।
रक्तसञ्चारका प्रमुख यादवले कहिले काँहि यस्तो कमजोरी हुने बताए । उनले तीन सिफ्टमा दशजना कर्मचारी रगत परीक्षणका लागि खटिने गरेको जानकारी दिए । बिरामीका आफन्त हतारिएका कारण पनि लेखाईमा ‘मिस्टेक’ भएको हुनसक्ने यादवको दावी छ ।