विराटनगरमा जारी रात्रीकालिन फुटबल प्रतियोगितामा झापाको दुधे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश

विराटनगरमा जारी रात्रीकालिन फुटबल प्रतियोगितामा झापाको दुधे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश

विराटनगर । झापाको दुधे भेट्रान क्लब विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको प्रतियोगिताको पहिलो खेलमा विराटनगरको मिल्स भेट्रान क्लबलाई १ शुन्यले पराजित गर्दै झापाको टोलीले अन्तिम चारमा स्थान बनाएको हो । कुल ७० मिनेटको खेलमा पहिलो ३५ मिनेटको हाफमा दुवै टोली गोलरहित बराबरीमा रहेका थिए । यद्यपी, दोस्रो हाफको खेल सुरु भएसँगै वर्षाले दुधे भेट्रान क्लबका खेलाडीलाई साथ दिएको थियो । पहिलो हाफमा थकित देखिएका मिल्सको कमजोर रक्षापंक्ति चिर्दै दुधेका भीष्मप्रसाद खरेलले आकर्षक गोल गरेका थिए । झमझम वर्षासँगै खेलको ५६ औं मिनेटमा खरेलले गरेको प्रहार मिल्सका गोलरक्षकले बचाव गर्न असफल भएका थिए । अन्ततः सोही गोल दुधे भेट्रानको जितमा निर्णायक बनेको थियो । खेलमा निर्णायक गोल गरेका खरेललाई विराट मेघा स्पोर्ट्स क्लबका सदस्य नवीन थापा र सिजी ब्रुअरी प्रदेश १ का प्रमुख ओमकार कार्कीले संयुक्त रुपमा म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा सुनसरीको दुहबी भेट्रान क्लबले मोरङको सिद्राहा भेट्रान क्लबको सामना गर्ने प्रतियोगिता संयोजक वसन्तराज अर्यालले जानकारी दिए । प्रतियोगितामा सहभागी ९ वटा टोलीले ४० वर्षभन्दा माथि उमेर समूहका खेलाडीलाई मैदानमा उतार्नुपर्ने प्रावधान रहेको सहसंयोजक एवं जिल्ला फुटबल संघ मोरङका महासचिव विनेश बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा विजयी टोलीले १ लाख रुपैयाँ र ट्रफी हात पार्ने उनले जानकारी दिए । विराटनगर मेघा स्पोर्ट्स क्लबका अध्यक्ष अजित सिंहका अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन विराटनगर महानगरका मेयर नागेश कोइरालाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्