अब रेड्मीकाे फोनमा पनि चार्जर नआउने !

अब रेड्मीकाे फोनमा पनि चार्जर नआउने !

काठमाडौं । एप्पल, सामसङ र अन्य केही ब्रान्डहरूले आफ्ना फ्ल्यागशिप फोनमासँगै चार्जर दिन छाडेका छन् । चिनियाँ कम्पनी साओमीले पनि ‘मि’ सिरिजका फोनहरू चार्जरबिनै बजारमा उपलब्ध गराइरहेकाे छ ।

हालै साओमीले आफ्नो सहायक ब्रान्ड रेड्मीको एक मोडल बिना चार्जर रिटेल स्टोरहरूमा पठाएको पाइएको छ । भारतीय बजारमा कम्पनीले ‘रेड्मी नोट ११एसई’ सार्वजनिक गरेको छ, जसको बक्समा चार्जर समावेश गरिएको छैन ।

यो कुरालाई साओमी इन्डियाको आधिकारिक पेजले पनि स्वीकार गरेको छ । फोनसँगै यूएसबी-सी केबल, सिम इन्जेक्टर टुल, प्रोटेक्टिभ केस, वारेन्टी कार्ड लगायतका सामग्री भएपनि चार्जर नदिनुले मिडरेन्ज सेगमेन्टमा पनि साओमीले चार्जर उपलब्ध नगराउने तयारी गरेकाे अनुमान गरिएकाे छ ।

नयाँ स्मार्टफोनमा चार्जर नआउनुको कारण के हाेला ?

कम्पनीहरुले वातावरण संरक्षणका लागि भन्दै नयाँ फाेनकाे बक्समा चार्जर उपलब्ध नगराउने स्पष्टीकरण दिने गरेका छन् । तर यसले एउटा कुरा सोच्न बाध्य बनाउँछ कि चार्जर नदिँदैमा वातावरणको रक्षा हुन्छ ? सतही रुपमा हेर्दा यसले विद्युतीय फाेहाेर धेरै हुन दिँदैन ।

किनभने बिना चार्जर फोन मात्र सप्लाई गर्दा बक्सको आकार घट्छ । जसले प्लास्टिकजन्य तत्वहरुबाट हुने प्रदूषणलाई घटाइरहेको हुन्छ ।

तर कम्पनीहरुको यो निर्णयसँगै यसले अप्रत्यक्ष रुपमा अर्को असर पनि जन्माएको छ ।

सबैभन्दा पहिलो कुरा भनेको नयाँ फोनमा चार्जर आएन भने तपाईंले पुरानो चार्जरबाट काम चलाउन खोज्नुहुनेछ, जुन एकदमै सुस्त र कम पावरको हुनेछ ।

दोस्रो कुरा भनेको जब तपाईं पुरानो चार्जर प्रयोग गर्नुहुन्छ, त्यतिन्जेल चार्जर र त्यसको केबल दुवै कमजोर भइसकेका हुन्छन् । जसले नयाँ फोनका लागि थप समय धान्न सक्दैन ।

के यी कम्पनीहरुले उसो भए पुरानो चार्जरमै प्रयोगकर्ताहरु भर पर्न सकुन् र थप अनावश्यक फोहोर मैलाले वातावरण प्रदूषित नहोस् भन्ने चाहेका हुन् त ? तीन वर्ष पुरानो फोनको चार्जर त सायदै कसैले साचेर राखेका होलान् ।

न त तिनले तपाईंको थप एड्भान्स फ्ल्यागशिप मोडलको शक्तिशाली ब्याट्री चार्ज गर्न सक्छन् । यस्तो बेला तपाईंले पक्कै पनि प्याकेट सहित नयाँ चार्जर किन्नु नै पर्छ । यसरी प्रयाेगकर्ता थप शुल्क तिरेर नयाँ चार्जर छुट्टै किन्ने बाध्यतामा रहन्छन् ।

जसले अन्ततः अघिल्लो पुस्ताको फोनले झैं फोहोर मैला उत्पन्न गराउनेछ । त्यसमाथि एउटा छुट्टै चार्जर किन्दा बक्सभित्र कति प्लास्टिक, पेपर हुन्छन् भन्ने कुरा त तपाईँलाई थाहै छ ।

तर फोनहरुमा चार्जर नदिने निर्णयसँगै अब तपाईँले थाहै नपाई इयरफोन पनि गुमाउँदै हुनुहुन्छ ।

यूएसबी-सी इयरफोन प्रयोग गर्नेहरु निरन्तर घट्दैछन् । अहिले वायरलेस इयरफोनको बजार एकदमै बढिरहेको छ ।

यो त एउटा सुरुवात मात्र हो । अबको केही वर्षमा अन्य धेरै कम्पनीहरुले निःशुल्क दिँदै आइरहेको फोनको केस पनि उपलब्ध गराउन छाेड्ने देखिन्छ ।
टेकपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्