दक्ष जनशक्ति अभावमा उत्पादनमा असर

दक्ष जनशक्ति अभावमा उत्पादनमा असर

विराटनगर । उद्योगहरुलाई आवश्यक दक्ष श्रमशक्तिको अभावमा उत्पादनमा प्रत्यक्ष असर परेको र मुलुकभित्रै रोजगारीको अवसर समेत गुम्दै गएकोतर्फ सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उद्योगहरुलाई आवश्यक जनशक्ति उत्पादनमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको भन्दै उद्योगी– व्यवसायिहरुले वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ सहित विभिन्न पाँचवटा उद्योगी तथा व्यवसायिक संघसंस्थाहरुको सहकार्यमा आइतबार विराटनगरमा आयोजित श्रम बजार सूचना कार्यशालामा बोल्नेहरुले युवाहरुको श्रम दक्षता बृद्धि गर्दै नेपालमै काम गर्ने वातावरण बनाउन जरुरी रहेको औल्याएका हुन् ।

कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोले मुलुकको आर्थिक विकासका लागि दक्ष श्रमशक्ति आवश्यक रहेको बताउनु भएको थियो । उहाँले २० प्रतिशत युवाशक्ति विदेशकै श्रममा केन्द्रीत रहेकोले मुलुकभित्रका उद्योग व्यवसाय संचालनका लागि बाहिरबाट मान्छे ल्याएर लगाउनु पर्ने अवस्था रहेको बताउनु भएको थियो । मन्त्री आङ्बोले सरकार र निजी क्षेत्र मिलेर काम गर्दै गएको खण्डमा मुलुकभित्रै रोजगारी सिर्जना गर्न र दक्षता प्राप्त गरेका युवा शक्तिको विदेश पलायनलाई न्यूनिकरण गर्न सकिने दाबी गर्नु भएको थियो । उहाँले सीप बिनाको श्रमशक्ति विदेशमा समेत दुःख पाइरहेकोले मुलुकको बेरोजगारी समस्या समाधानका लागि दक्ष जनशक्ति उत्पादनमा ध्यानदिनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले रोजगारी सिर्जनामा निजी क्षेत्र र सरकारसँगको समन्वय प्रभावकारी रुपमा अघि बढेको बताउनु भएको थियो । उहाँले प्रदेश सरकारहरुले समेत दक्ष जनशक्ति उत्पादनका लागि लगानी बढाउँदै लगेकोले उद्योग व्यवसायलाई सहजता हुने विश्वास व्यक्त गर्नु भयो ।
महासंघका प्रदेश १ अध्यक्ष टिकाराज ढकालले सिटिईभिटीसँगको सहकार्यमा प्रदेशकै तालिम प्रशिक्षण केन्द्रहरुबाट दक्ष जनशक्ति उत्पादनमा सघाउ पु¥याउन सकिने बताउनु भयो । कार्यक्रममा रोजगार विज्ञ मनोज शर्मा न्यौपानेले प्रदेश १ का ६ वटा जिल्ला सहित कुल २९ जिल्लामा गरिएको श्रम बजार सूचना सर्वेक्षणबाट प्राप्त भएका तथ्य तथ्यांकहरु प्रस्तुत गर्नु भएको थियो । उहाँले निर्माण, कृषि र पर्यटन क्षेत्रका मुख्य १०÷१० वटा पेशामा हाललार्य आवश्यक रहेको र आगामी ५ बर्षमा आवश्यक पर्ने दक्ष जनशक्तिको विवरण प्रस्तुत गर्नु भएको थियो । सर्वेक्षण अनुसार निर्माण क्षेत्रमा आगामी ५ बर्षमा ५५५ जना कार्पेन्टर, ५२७ साइट सुपरभाइजर, इलेक्ट्रिसियन ४५३ जना आवश्यक पर्ने जानकारी दिनुभएको थियो ।

त्यसैगरी कृषि क्षेत्रमा सवैभन्दा बढि पशुपालन प्राविधिक १८४, चिया प्रसोधक १४७, कृषि फार्म प्राविधिक १३३ जना आवश्यक पर्ने अनुमान प्रस्तुत गरिएको थियो । न्यौपानेले पर्यटनतर्फ नेपाली किचेन कुक ५०९, होटल तथा रेष्टुरेन्ट परिचालक २३६ र होटल मर्मत प्राविधिक १५९ जना आवश्यक रहेको सर्वेक्षणबाट प्राप्त जानकारी प्रस्तुत गर्नु भएको थियो ।
व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सिटिईभिटी) का प्रदेश १ प्रमुख नवराज कोइरालाले पहिचान भएका अत्यावश्यक तालिम कार्यक्रमलाई अघि बढाउन आवश्यक रहेको बताउनुभो ।

कृषि मन्त्रालयका निमित्त सचिव पशुपति पोखरेलले कृषि क्षेत्रमा कम्बाईन हार्भेष्टिङ उपकरणहरुको अपरेटर नेपालमा अभाव रहेको जानकारी गराउनु भएको थियो । त्यसैगरी त्यस्ता उपकरणहरुको मर्मत सम्भार गर्ने प्राविधिकहरु पनि अभाव रहेकोले भारतबाट भर पर्नुपरेको बताउनु भएको थियो । साथै माछा र बंगुरको मासुबाट बन्ने सयौं परिकारहरुको पहिचान गरी होटल तथा पर्यटन क्षेत्रबाट रोजगारी सिर्जना गर्न सकिने सम्भावना प्रदेश १ मा उच्च रहेको पोखरेलले बताउनु भएको थियो ।

कार्यक्रममा जिफण्ट प्रदेश १ का अध्यक्ष किशोर धमलाले नेपालमै काम गर्ने वातावरण बनाउनका लागि कार्यरत श्रमिकहरुको ज्यालामा भइरहेको विभेद अन्त्य गर्नुपर्नेमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।
निर्माण व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष कमल गौतमले दक्ष जनशक्तिको अभावमा निर्माण क्षेत्र पनि प्रभावित भइरहेको बताउनु भएको थियो । उहाँले दक्ष श्रमिकलाई काम पाउनका लागि भने समस्या नरहेको दाबी गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्