एएफसीले आजिवन प्रतिबन्ध लगाएका पूर्वकप्तान सागर थापा विराटनगरमा भेट्रान्स फुटबल खेल्दै

एएफसीले आजिवन प्रतिबन्ध लगाएका पूर्वकप्तान सागर थापा विराटनगरमा भेट्रान्स फुटबल खेल्दै

विराटनगर । ‘म्याच फिक्सिङ’ को अभियोगमा अदालतबाट सफाई पाएसँगै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सागर थापा विराटनगरमा जारी मुस्ताङ विराट भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि भएका छन् । विराटनगर मेघा स्पोर्टस् क्लवले आयोजना गरेको भेट्रान्स फुटबल खेल्न थापा हाटखोला भेट्रान्स क्लव विराटनगरमा आवद्ध भएर प्रतियोगितामा सहभागी भएका हुन् ।

सोमबार शहीद रंगशाला विराटनगरमा आयोजक मेघा स्पोर्टस्लाई हाटखोलाले १०–० गोलअन्तरले पराजित गर्दा थापाले दुई गोल गरेका थिए ।
विशेष अदालतले म्याच फिक्सिङको अभियोग लागेका पूर्वकप्तान थापासहित ६ जनालाई प्रहरीको दावी नपुगेको भन्दै सफाई दिइएको थियो ।

प्रहरीले २०७२ असोज २७ गते उनीहरुलाई पक्राउ गरेर राज्यद्रोहको मुद्दामा अनुसन्धान गरेको थियो । २०७२ कार्तिक २४ गते थापालगायत चार खेलाडी र प्रशिक्षक धरौटीमा रिहा भएका थिए ।

उनीहरुलाई २०७५ जेठमा विषेश अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको थियो । विशेषको सो फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिरमा सर्वोच्च अदालत पुगेको थियो । २०७७ असार २ गते सर्वोच्च अदालतले पनि उनीहरुलाई सफाइ दिएको थियो ।

मेघा स्पोर्टस् क्लवले स्वास्थ्यका लागि खेल भनेर आयोजना गरेको फुटबल प्रतियोगिता अखिल नेपाल फुटबल संघसँग कुनै स्वीकृत लिएको छैन । संघका मोरङका अध्यक्ष संजीव बुढाथोकीले अनौपचारिक रुपमा प्राविधिक सहयोग गरेको भएपनि एन्फासँगको आधिकारिक प्रतियोगिता नभएकोले पूर्वकप्तान थापालाई सहभागी गराइएको हुनसक्ने बताए । उनले एन्फा र फिफासँग आवद्ध प्रतियोगितामा पूर्वकप्तान थापासहित अन्य खेलाडी र प्रशिक्षकले सहभागिता जनाउन नपाउने बताएका छन् । तर, क्लवस्तरीय प्रतियोगितामा पूर्व खेलाडीको हिसाबले सहभागी गराइएको हुनसक्ने बताए ।

थापाले फुटबल करियरको सुरुवात विराटनगरको मोतीराम क्लबबाट गरेका थिए । हाटखोला भेट्रान क्लब उनका लागि घरेलु टोली सरह हो ।

म्याच फिक्सिङमा संलगन रहेको अभियोगमा एशियाली फुटबल महासंघ (एएफसी)को अनुशासन समितिले उनीहरुलाई आजीवन प्रतिबन्ध लगाएको थियो । त्यो फुकुवा नगरी खेलमा सहभागी भएको भन्दै विराटनगरमा त्यसको चर्चा चलेको छ ।
नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सागर थापा, पूर्व उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, पूर्वडिफेन्डर विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई सन् २००८ देखि २०१२ सम्मका थुप्रै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म्याच फिक्सिङमा संलग्न भएको अभियोग थियो । एएफसीको अनुशासन समितिले आजीवन प्रतिबन्ध लगाउने निर्णय अदालतले सफाई दिएपनि फुकुवा भने गरेको छैन ।

उनीहरु व्रिुद्ध प्रहरीले आठ खेलमा फिक्सिङ गरिएको आरोपसहित अदालतमा मुद्दा दायर गरेको थियो । अफगानिस्तानसँग २–२ को बराबरी (मर्डेका कप २००८), अफगानिस्तानमाथि ३–० को जित (साफ २००९), क्यामरुनसँग ५–० को हार (नेहरू कप २०१२), कुवेतसँग ५–० को हार (एसियन गेम्स २०१४) र इराकसँग ४–० ले असफल (एसियन गेम्स २०१४) भएको खेलमा पनि उनीहरूले फिक्सिङ गरेको आशंका गरिएको थियो ।

विशेषगरी निश्चित अन्तरको हार, त्यो पनि अन्त्यतिर धेरै गाल बेहोर्नुपर्ने गरी नेपाली फुटबलरले विश्वका कुख्यात ‘म्याच फिक्सर’सँग मोटो रकम लिएको प्रहरीको आरोप थियो । एएफसी, स्पोट्र्स राडार (एएफसीसँग सहकार्य गरिरहेको कम्पनी) र यूएईएफए (युनियन अफ युरोपियन फुटबल एसोसिएसन्स) को इन्टिग्रिटी युनिटले अनुसन्धान गरेर एसियाली फुटबलको सर्वोच्च संस्थाले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
पूर्व उप–कप्तान सन्दिप राईलाई प्रदेश खेलकुद परिषद्ले सदस्यमा नियुक्ति गरेको छ । उनी पनि एएफसीले प्रतिबन्ध लगाएका खेलाडी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्