विराटनगरका होटल बुकिङ र भुक्तानीमा ई–सेवासँग सहकार्य

विराटनगरका होटल बुकिङ र भुक्तानीमा ई–सेवासँग सहकार्य

विराटनगर । प्रदेश १ मा होटल बुकिङका लागि ई–सेवाको सुविधा विस्तार भएको छ । विराटनगरसहित प्रदेशका पर्यटकीयस्तरका होटल ई–सेवाबाट बुकिङ गर्न सकिने भएको हो ।

होटल व्यवसायी संघका प्रदेश १ अध्यक्ष राजन श्रेष्ठले सेवाग्राहीले मोवायलको प्रयोग गरेर होटल बुकिङ गर्नसक्ने गरि ई–सेवासँग सहकार्य गरिएको जानकारी दिनुभयो । सेवाग्राहीले बुकिङ र भुक्तानीका लागि ई–सेवाको मोवायल एप्स प्रयोग गर्न सक्ने सुविधा उपलब्ध गराइएको हो ।

ई–सेवाका प्रदेश इन्चार्ज झलक सुब्बाका अनुसार विराटनगरका ८ होटल यो सुविधामा जोडिएका छन् । प्रदेश १ का २० होटलसँग ई–सेवाले सम्झौता गरिसकेको छ । ई–सेवाले पहिलो चरणमा तीनतारेस्तर माथिका होटलसँग सुविधा आदान–प्रदानको सम्झौता गर्ने इन्चार्ज सुब्बाले जानकारी दिनुभयो । त्यसपछि मध्यमस्तरका होटल ईच्छुक देखिएमा सम्झौता गरिने भएको छ ।

विराटनगरका होटलसँगको कारोबारमा ई–सेवाले १० प्रतिशत ‘क्यास ब्याक’ सुविधा दिइएको छ । इन्चार्ज सुब्बाले ई–सेवाले दिईने सुविधा सेवाग्राहीसँग मत सर्वेक्षण गरेर विस्तार गरिएको दावी गर्नुभयो । प्रदेश १ का पर्यटकीयस्तरका ठूला होटलसँग सहकार्य गर्नका लागि ई–सेवाले त्यहि अनुसारको एप्स बनाएको सुब्बाको भनाई छ । ई–सेवाको एप्समा गएपछि होटल बुकिङ अन्तर्गत सम्झौता भएका होटलको सूची एप्समै उपलब्ध हुनेछ । प्रत्येक होटलको विशेषतासहितको सेवाको विवरण एप्समा हेरिसकेपछि सेवाग्राहीले रोजाईको होटलको कोठा बुकिङ गर्नसक्ने सुविधा राखिएको हो ।

पर्यटन व्यवसायी एवं होटल एशियाटीकका सञ्चालक पुण्य भट्टराईले आन्तरिक तथा बाह्य पर्यटकले समेत स्थलमै आएर होटल खोज्नुपर्ने झन्झट ई–सेवासँगको सहकार्यले हटाउन सक्ने बताउनुभयो । सहकार्यमा गरिएको कारोबारको पारदर्शिता समेत रहने भएकोले होटल व्यवसायी, सेवाग्राहीलाई समेत सहज हुने दावी गरिएको छ ।

अध्यक्ष श्रेष्ठले पर्यटन व्यवसायलाई विस्तारै अनलाइन सेवा प्रणालीमा जोड्दै जानका लागि सुचना र प्रविधिसँग जोडेर सेवाग्राहीलाई बढीभन्दा बढी सुविधा उपलब्ध गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले पर्यटकका लागि अनलाइन बुकिङ र भुक्तानी प्रणालीको एउटै एप्स प्रयोग गर्ने अवसरले अझै सहज हुने धारणा राख्नुभयो ।
हालसम्म विराटनगरको रत्ना होटल, दिप्यरत्न होटल, नमस्कार, एशियाटीक, इष्टर्न स्टार होटलसँग सम्झौता गरिएको छ । यसैगरी मोरङको विराटचौकस्थित नेपालिरिका होटलको दमक शाखा र धनकुटाको हिलेमा रहेको होटल होराइजनसँग समेत सम्झौता भएको सुब्बाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्