विराटनगर । पूर्वाञ्चल विश्व विद्यालयमा अन्तर्गतका आङ्गिक क्याम्पसका प्रमुखहरूको कार्यकक्षमा नेपाली काँग्रेस निकटको नेपाली विद्यार्थी सङ्घले तालाबन्दी गरेको छ । विभिन्न नौ सुत्रीय माग राख्दै विद्यार्थीहरुले विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस प्रमुखको कार्यकक्षमा बुधबार तालाबन्दी गरेका हुन् ।
यस अगाडी गरिएको वार्ता र सहमति कार्यान्वयन नभएको संघको दावी छ । तीन दिनको अल्टिमेटम कार्यान्वयन नगरी अवज्ञा गरेकोले पूर्वाञ्चल विश्व विद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसहरूका क्याम्पस प्रमुखहरूको कार्यकक्षहरू तालाबन्दी गरेको विद्यार्थी नेता योगराज दाहालले जानकारी दिएका छन् ।
स्कुल अफ इन्जिनियरिङ (पुसेट), स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी, स्कुल अफ फरेष्ट्रि (पुसेफ) र डिन र सह–डिनहरूको कार्यकक्ष क्रमशः साइन्स एन्ड टेक्नोलोजी एवम् इन्जिनियरिङको लगायत उप–कुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
डीनको कार्य क्षेत्र र उपलब्धि लिखित दस्ताबेज सार्वजनिक गरिनुपर्ने, वैज्ञानिक पद्धति बाट दक्ष जनशक्ति लाई प्राथमिकता दिनु पर्ने, विद्यार्थीलाई चर्को शुल्क लिइने तर अपर्याप्त बजेट दिई प्रयोगात्मक कक्षा तथा पूर्वाधार क्याम्पसमा उपलब्ध नगराई नतिजाबाट विद्यार्थीलाई वञ्चित गरिएको विषयमा लिखित जवाफ माग गरिएको छ ।
डीनलाई नयाँ शैक्षिक जनशक्ति भर्ती गर्ने निकायको रूपमा नभई हाल उपलब्ध जनशक्तिको समयसापेक्ष शैक्षिक दक्षता मापन एवं तालिम र सोहीको आवश्यकता अनुरूप सुदुरिकरण गर्ने जिम्मेवारी दिइनु पर्ने, इन्जिनियरिङ एवं साइन्स एन्ड टेक्नोलोजीको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षा व्यवस्था गर्नुपर्ने, परीक्षा नतिजा तीन महिना भित्र प्रकाशित गरिसक्नु लगायत माग राख्दै विद्यार्थी आन्दोलित भएका थिए ।