विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले प्रदेश संसदलाई बलियो बनाउनुपर्ने र प्रदेश सरकारलाई बढी भन्दा बढी जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले भने, 'प्रदेश सरकारबाट धेरै काम गर्न सकिन्छ, नेतृत्व सही नभएकाले पनि प्रदेश सरकारले सोचे जस्तो काम गर्न सकेन ।'
पराजुलीले यसअघि प्रदेश संरचनाको विरोध गरेको कुरा आएको थियो । 'मैले प्रदेशको विरोध गरेको होइन, प्रदेश संसद र सरकार अत्यावश्यक हुन्छ तर, यसले काम गर्न सकेन भन्ने गुनासो हो' उनले भने, "केन्द्र र स्थानीय सरकारसित समन्वय गरेर काम गर्ने हो भने धेरै काम गर्न सकिन्छ ।'
आफु विराटनगरको महानगर प्रमुखका रुपमा ५ वर्ष काम गर्दा प्रदेश सरकारका काम र शैलीदेखि वाक्क भएको उनको निष्कर्ष थियो । 'म के निर्णयमा पुगे भने प्रदेश सरकार र संसद गलत होइन, हामीले काम गर्न नसकेको हो' उनले भने, 'केन्द्रसित समन्वय गरे प्रदेशलाई भारतकै जस्तो शक्तिशाली राज्य सरकार बनाउन सकिन्छ ।'
नेपालमा प्रदेश सरकार नौलो प्रयोग भएकाले पनि पहिलो कार्यकालमा संसद र सरकारले आशातित काम गर्न नसकेको उनले बताए । 'तर, काम गर्ने हो भने हुन्छ, गर्न सकिन्छ' पराजुलीले भने, 'हामीले छिमेकी विहार, पश्चिमबंगाल, सिक्किमलगायतका राज्यसित सम्वन्ध गाँस्न सकेनौं, कोसीको समस्या आउँदा हामी बिहारका मुख्यमन्त्रीसित कुरा गर्न सकेनौं, राज्य सरकारको अवधारणा व्यवहारमा उतार्ने हो भने धेरै खालको सम्वन्ध विकास गर्दै प्रदेशको बृहत्तर हितको काम कार्यान्वयन गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।' यो समाचार आजको न्यू सृष्टि दैनिकमा प्रकाशित छ ।
फोटो : फाइल