विराटनगर । विराटनगरमा व्यापारीक भवनले ‘बेसमेन्ट पार्किङ्ग’ प्रयोजन खुलाएर नक्सा पास गरेपनि सडकमा रोकिएका सवारीको जाम हुन्छ । महानगरको क्षेत्राधिकारका सडक मात्रै नभई राष्ट्रिय राजमार्गमा समेत सवारीको पार्किङ सडकमै हुने गरेको हो ।
विराटनगरमा पार्किङ व्यवस्थापनको काम जरुरी छ भन्ने अहिलेसम्म स्थानीय सरकारले बुझ्न सकेको छैन । तर, निश्चित क्षेत्रका लागि तोकिएका पार्किङ नहुँदा महानगर क्षेत्रमा सवारी आवागमन नै अवरुद्ध हुने सडकका जाम छिचोल्न असहज बन्दै गएको छ ।
विराटनगर महानगरपालिका घरनक्सा शाखाको तथ्यांक अनुसार हालसम्म १२ वटा व्यापारिक भवनले बेसमेन्ट पार्किङसहितको नक्सा स्वीकृति लिएका छन् । घरनक्सा शाखाका प्रमुख राकेश ठाकुरका अनुसार विराटनगरमा ठूला होटल तथा नयाँ बन्दै गरेको गोल्डेनबाहेक अन्य हस्पिटलमा यस्तो सुविधा छैन । नोबेलको आफ्नै पार्किङ क्षेत्र छ । तर, बजारमा रहेका विराटनगर अस्पताल र न्यूरो अस्पतालको पार्किङ सुविधा छैन । सानो क्षेत्र भाडामा लिएर पार्किङ गराउने गरिएको भएपनि विराट र न्यूरो आसपास सडकमा सवारी रोकिन्छ ।
राष्ट्रिय राजमार्गलाई पहुँच बनाएर बनेको व्याापारिक महल भाटभटेनी सुपरस्टोरले डबल बेसमेन्ट पार्किङसहितको संरचना बनाएको छ । दैनिक भाटभटेनी पुग्ने सेवाग्राहीले पार्किङको सुविधा उपयोग गर्दै आएका छन् । भाटभटेनी उत्तरमा बन्दै गरेको नयाँ सेन्चुरीयन महल, शुभ इन्टरप्राइेजजले नक्सा पास गराउँदा बेसमेन्ट पार्किङको स्वीकृति लिएका छन् ।
विराटनगरको सेन्ट्रल महलमा समेत बेसमेन्ट पार्किङ सुविधा छ । त्यहाँ पुग्ने सेवाग्राहीले सडकमा सवारी रोक्नुपर्ने अवस्था छैन । यस्तै हाटखोलामा रहेको आर.के.सिटी महलमा समेत यो सुविधा छ ।
महेन्द्रचौकमा रहेको पहिले नेपाल बजार बसेको भवन समेत पार्किङ सुविधासहितको छ । त्यो भवनमा अहिले बैंकलगायतका संस्था छन् । तर, उक्त भवनमा अन्डरग्राउण्ड पार्किङ सुविधा रहेपनि पश्चिमतर्फको सडकमा पार्किङ हुने गरेको छ । महेन्द्रचौक पूर्व बनेको हिरा–शान्त भवनमा समेत बेसमेन्ट पार्किङ सुविधा छ । यस भवनमा समेत बैंक तथा वित्तीय संस्था भाडामा बसेका छन् ।
यसैगरी जलजला चौक पश्चिममा गोपाल श्रेष्ठको घर समेत बेसमेन्ट पार्किङ सुविधासहितको नक्सा पास गराएर निर्माण गरिएको छ । हाल उक्त घरमा लक्ष्मी बैंकसहितका संस्थाहरु भाडामा बसेका छन् ।
घरनक्सा शाखाका प्रमुख ठाकुरले विराटनगरमा अब बन्ने व्यापारिक भवनमा बेसमेन्ट पार्किङ अनिवार्य भईसकेको बताउँछन् । उनले नक्सा पास गराउँदाको प्रयोजन विपरित पार्किङ क्षेत्र अन्य प्रयोजनमा प्रयोग गरेको भए अनुगमन गरेर कारवाही हुने दावी गरेका छन् । व्यापारिक प्रयोजनका घरहरुले सेवाग्राहीलाई पार्किङ सुविधासहितको संरचना बनाएपनि महानगरपालिकाले भने सार्वजानिकस्तरको पार्किङ क्षेत्र निर्माण गर्न सकेको छैन ।