विराटनगर । शिक्षा मन्त्रालयको मापदण्ड परिवर्तन गरेर भवन निर्माण गरेको पाइएपछि विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालय निर्माणसँग सम्बन्धित कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिइएको छ । विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न भएको चारवर्षपछि अनियमितता भएको आशंकामा छानविन सुरु भएको हो ।
तराई–मधेश समृद्ध कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६-२०७७ मा ३५ लाख लागतमा निर्माण सम्पन्न भवनको नक्सा चारकोठेबाट परिवर्तन गरेर दुई कोठाको बनाएर अनियमितता गरेको आरोप छ । नक्सामा चारकोठे भवनको ढाँचा उल्लेख गरिएको भएपनि दुई कोठाको मात्रै बनेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । विराटनगर महानगरपालिका योजना महाशाखा प्रमुख इन्जिनियर भरत न्यौपानेले निर्माण सम्पन्न भवनको विषयमा आशंका उब्जिएपछि अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।
इन्जिनियर न्यौपानेले अख्तियारले कागजात नियन्त्रणमा लिएर अहिले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । महानगरपालिकाको प्राविधिक टोलिले समेत भवन निर्माण बारे अध्ययन गरिरहेको छ । महानगरका तत्कालिन योजना प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्प प्रधान र ओभरसियर उमेश शंकर भवन निर्माणमा संलग्न देखिएको छ । चार कोठे भवनको नक्सा परिवर्तन गरेको आरोपसहित स्थानीयले पारदर्शिता खोजेका हुन् । निर्माण सम्पन्न भएको कागजात बनाएर रकम निकासा गरेपछि विद्यालयका तत्कालिन प्रध्यानाध्यापक गीता ढकालसहित विरुद्ध उजुरी परेको हो । विराटनगरको अर्को योजना निर्माणमा अनियमितता गरेको आरोपमा इन्जिनियर पोखरेल र श्रेष्ठ विरुद्ध विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेपछि दुवैजना निलम्बित इन्जिनियर हुन् ।
विद्यालयको भवनको भित्री काम अझै अपुरो रहेको छ । प्रध्यानाध्यापक गोविन्द गजुरेलले भवन निर्माण बारे प्रश्न उब्जिएपछि अहिले अनुसन्धानकै प्रक्रियामा रहेको जानकारी दिनुभयो । विद्यालय भवनको प्लस्टर समेत कमजोर रहेको आरोप स्थानीयको छ ।
महानगरपालिका योजना प्रमुख इन्जिनयिर न्यौपानेले भने रकम अनुसारको फिल्डमा काम सम्पन्न भएको प्राविधिक लागतमा देखिएको बताउनुभयो । उहाँले तत्कालिन समयमा उल्लेखित रकम बराबरको काम भएकोले अहिले नै कमजोरी भएको भनेर भन्न नमिल्ने दावी गर्नुभयो ।
तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले २०७६÷७७ को बजेटबाट विपन्न, दलित र सिमान्तकृत परिवारको छोरोछोरी अध्ययनरत विद्यालयका लागि तराई–मधेश समृद्ध कार्यक्रममार्फत बजेट सुनिश्चित गराउनु भएको थियो । विद्यालयमा विपन्न परिवारका १५० बालबालिका अध्ययनरत रहेका छन् ।
शिक्षा मन्त्रालयले ४ कोठे भवन निर्माणको लागी मापदण्डसहितको नक्सा बनाएको थियो । विराटनगर महानगरपालीकाले शिक्षा मन्त्रालयको नक्सा परिवर्तन गरेको दावी छ । नक्सा परिवर्तन गर्दा चार कोठेलाई दुई कोठे बनाइएपछि आशंका सिर्जना भएको हो ।