विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङमा उमेदवार छनौट सुरु भएको छ । आ–आफ्ना दलले संघ र प्रदेशमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उमेदवारको नाम धमाधम टुङ्गो लगाईरहेका छन् ।
निर्वाचनमा होमिने तयारीसहित उमेदवारहरु पनि गाउँगाउँमा प्रचारमा लागिसकेका छन् । सत्तागठबन्धनमा रहेका सरकारवादी दलहरु नेकपा एमाले विरुद्धको मोर्चा कस्ने योजनामा छन् । यो मोर्चामा सम्मिलित हुनुपर्ने अडानमा सबैभन्दा धेरै माओवादी केन्द्र छ ।
तर, मोरङमा भने आफ्नै पार्टीका उमेदवार सिफारिस भएको दिन माओवादीका नेता गोपीबहादुर अछामीले एमालेका नेतालाई बधाई दिएपछि यसको चर्चा व्यापाक बनेको छ । विरोधाभाषपूर्ण ढंगले अछामीले मोरङ क्षेत्र नम्बर ४ का उमेदवार अमनलाल मोदी विरुद्ध ‘अग्रिम अन्तर्घात’ गरेका हुन् ।
अछामीले मोरङ क्षेत्र नम्बर ४ बाट एमालेका नेता बिनोद ढकाल सिफारिस भएको विषयलाई सामाजिक सञ्जाल फेसबुकमा जीतका लागि अग्रिम बधाई दिएका हुन् । आइतबार मात्रै एमालेले ढकाललाई र माओवादीले मोदीको एकल नाम सिफारिस गरेको थियो । मोदी त्यस निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।
माओवादी वृत्तमा अछामीको यसतो कार्यप्रति चौतर्फी विरोध सुरु भएको छ । अछामीले आफ्नै श्रीमती सावित्रा अछामीलाई समानुपातिकतर्फ नाम सिफारिस गराएको क्षेत्रमै प्रत्यक्षतर्फ एमालेका नेतालाई बधाई दिएको विषय सिन्धुली÷मोरङको कित्ताकाटसम्म उचालिएको छ ।
अछामी २०६३ देखि मोरङमा छन् । उनी सिन्धुलीका हुन् । मोरङमा अड्डा जमाएर बसेको उनलाई आरोप लाग्ने गरेको छ । पहिलो संविधासभा निर्वाचनमा उनी प्रत्यक्षतर्फ बिजयी पनि भएका थिए । त्यसपछि उनले स्थानीय नेताहरुले पाउने अवसरमा कब्जा जमाएको आरोप लाग्दै आएको थियो । पछिल्लो बधाई प्रकरणले अछामीलाई मोरङमा बाईपास गर्नुपर्ने सम्मको चर्चा सुरु भएको छ ।
माओवादी पार्टीको आन्तरिक वृत्तमा चर्चा चुलिएपछि उनले बधाई दिएका पोष्टहरु हटाएका छन् । तर, पहिले नै स्क्रिनसट गरेर राखिएका प्रमाणले उनीमाथि केन्द्रस्तरबाटै कारवाही हुनपर्ने माग समेत गरिएको छ । थारु बाहुल्य क्षेत्रमा मोदीले टिकट पाउँदा फेरी पनि जित्ने संभावना रहेको एमाले वृत्तमै चर्चा छ । ग्रामथानका एक एमाले नेताले गाउँमा मोदी सबैसँग मिलेर बसेको कारण अहिले पनि संभावना उसैको रहेको बताएका छन् ।