यस्ता छन् तीन पार्टीबाट मोरङमा सिफारिस उमेदवार

<span class='c1'>यस्ता छन् तीन पार्टीबाट</span> <span class='c2'>मोरङमा सिफारिस उमेदवार</span>

विराटनगर । नेकपा एमाले, काँग्रेस र माओवादी केन्द्रले मोरङका ६ वटा निर्वाचन क्षेत्रबाट संभावित उमेदवारको नाम सिफारिस गरेका छन् । संघीय संसदका लागि तीन मुख्य पार्टीले नाम सिफारिस गरेका हुन् ।

मोरङको क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बू, रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आचार्यको नाम सिफारिस गरेको छ । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट एमाले नेता घनश्याम खतिवडा विजयी भएका थिए । काँग्रेसका नेता लिम्बू पराजित भएका थिए ।
एमालेले प्रतिनिधि सभाका लागि खतिवडा र पूर्वमन्त्री डा.शिवमाया तुम्बाहाम्फेलाई सिफारिस गरेको छ । माओवादी केन्द्रले उक्त क्षेत्रबाट प्रेम मिभक लिम्बूलाई सिफारिस गरेको छ ।

यसैगरी क्षेत्र नम्बर २ बाट एमालेले प्रतिनिधिसभा सदस्यका लागि संविधान सभा सदस्य ऋषिकेश पोखरेलको नाम सर्वसम्मतले सिफारिस गरेको छ । पोखरेलले २०७० सालको निर्वाचनमा काँग्रेस नेता आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । २०७४ सालको निर्वाचनमाभने वाम गठबन्धनबाट उम्मेदवार बनेपनि काँग्रेस नेता डा.मिनेन्द्रप्रसाद रिजालले पराजित गरेका थिए ।
नेपाली काँग्रेसले भने उक्त क्षेत्रबाट रिजाल र काँग्रेस नेतृ सुजाता कोइरालाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले उक्त क्षेत्रबाट गणेश उप्रेती ९सुशील०लाई सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसले डा. सुनिल शर्माको नाम सर्वसम्मत सिफारिश गरेको छ । शर्मा २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमाले नेता भानुभक्त ढकालसँग पराजित बनेका थिए । एमालेले भने ढकालको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
शर्मा नै काँग्रेसको उम्मेदवार बनेको खण्डमा पुनः ढकाल र शर्माको प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्रबाट माओवादी केन्द्रले सावित्रीकुमार काफ्ले, खेम भट्टराई र खेम सुन्दासको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ४ बाट एमाले नेता विनोद ढकालको नाम सर्वसम्मत सिफारिश भएको छ । उक्त क्षेत्रबाट यसअघि वाम गठबन्धनका उम्मेद्वार अमनलाल मोदी निर्वाचित भएका थिए । मोदीले काँग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए । यस पटक पनि गठबन्धन भए मोदी नै उम्मेदवार बन्ने छन् ।
मोदीको नाम माओवादीले सर्वसम्मत सिफारिस गरिसकेको छ । नेपाली काँग्रेसले भने उक्त क्षेत्रबाट नेता महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलिप गच्छदारको नामसिफारिस गरेको छ ।

क्षेत्र नम्बर ५ बाट नेकपा एमालेले योगेन्द्र मण्डल, मनोज अग्रवाल र राधादेवी पासवानको नाम सिफारिस गरेको छ । उक्त क्षेत्रबाट २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता शिवकुमार मण्डल विजयी भएका थिए । मण्डलले काँग्रेस नेता अमृत अर्याललाई पराजित गरेका हुन् ।
माओवादी केन्द्रले पुनः सो क्षेत्रमा मण्डलको उम्मेदवारी सर्वसम्मत सिफारिस गरिसकेको छ । यता, सो क्षेत्रबाट नेपाली काँग्रेसले पुनः अमृत अर्याल र हसन अन्सारीको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ६ बाट निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले मोरङ ६ मा पूर्वमन्त्री लालबाबु पण्डित र प्याब्सनका पूर्व अध्यक्ष टिकाराम पुरीको नाम सिफारिस गरेको छ । २०७४ सालको निर्वाचनमा पण्डितले काँग्रेस नेता शेखर कोइरालालाई पराजित गरेका थिए ।
काँग्रेसले उक्त क्षेत्रबाट डाक्टर शेखर कोइरालासँगै डाक्टर डिला संग्रौला, नेता रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस गरेको छ । यता, माओवादी केन्द्रले भने क्षेत्र नम्बर ६ बाट हेमबहादुर कार्की, नविन पौडेल र शिवकुमार कार्कीको नाम सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्