विद्यालय नाटक महोत्सव : दोस्रो दिन मनकामनाको उद्धारकर्ता विवेक

विद्यालय नाटक महोत्सव : दोस्रो दिन मनकामनाको उद्धारकर्ता विवेक

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवमा उद्धारकर्ता विवेक नामको नाटक मञ्चन भएको छ ।

महोत्सवको दोस्रो दिन बिहिबार विराटनगरको श्री मनकामना से. ई. बो. स्कुलले शिक्षक कमल कुमार शाहीको लेखन तथा निर्देशनमा बनेको नाटक मञ्चन गरेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गरिएको उक्त नाटकले पृथ्वी जोगाउन विवेक नामका युवाले गरेको प्रयासलाई प्रस्तुत गरेको थियो । विद्यार्थीमा सकारात्मक सोचको विकास तथा प्रकृतिको सम्वर्द्धनमा सघाउने अपेक्षा साथ नाटक तयार पारिएको विद्यालयले उल्लेख गरेको छ । नाटकमा आँचल खत्वी, शंकर साह, हर्षित अग्रवाल, देवराज साह, स्मृति पोखरेल लगायतले अभिनय गरेका थिए बुधबारदेखि शुरु भएको नाटक महोत्सवमा विराटनगर तथा आसपासका ९ विद्यालयले नाटक प्रस्तुत गर्नेछन् ।

पहिलो दिन बुधबार आयोजक आरोहण गुरुकुल विराटनगरले साँढे मञ्चन गर्दै उद्घाटन गरेको महोत्सवमा आज शुक्रबार अँधेरी नगरी मञ्चन हुनेछ । विराटनगरकै पूर्वाञ्चल विद्या सदन आवासीय माध्यमिक विद्यालयले भारतीय लेखक भारतेन्दु हरिशचन्द्रको नाटक मञ्चन गर्न लागेको हो । दैनिक अपराह्न ५ बजे फरक फरक विद्यालयका नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । भदौ २४ गते बुढानिलकण्ठ से.इ. स्कूलले प्रत्यागमन, भदौ २६ गते रञ्जनी एकेडेमिक इ. टिचिङ स्कूलले चोर, भदौ २७ गते सुम्निमा इ. स्कूलले भविष्य निर्माण मञ्चन गर्नेछ ।

त्यस्तै भदौ २८ गते मोर्डन एरा से.इ.बो. स्कूलले कोही निक बर्बाद होस्, भदौ २९ गते लक्ष्मीनारायण वेद विद्याश्रमले सुसंस्कृतम्, भदौ ३० गते कान्तिपुर से. स्कुलले खुट्टीमा झुण्डिएको कोट र भदौ ३१ गते अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका विद्यालय मध्येबाट ९ विद्यालय छनौट गरी सहजिकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो ।

सहभागी विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् । महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्