विराटनगरका उद्योगीको माग सम्बोधन गर्दै सरकारले करका दर घटायो

विराटनगरका उद्योगीको माग सम्बोधन गर्दै सरकारले करका दर घटायो

विराटनगर । बजेटमा करका दर हेरफेर गरेपछि आन्दोलनमा उत्रेका विराटनगरका उद्योगीहरुको माग सरकारले सम्बोधन गरेको छ । व्यवसायीको विरोध पछि सरकारले जीआई वायर रड र स्यानिटरी प्याडसहित विभिन्न वस्तुको भन्सार महसुल र अन्तःशुल्क घटाउने निर्णय गरेको हो ।

भदौ २१ मा बसेको मन्त्रिपरिषद् बैठकले जीआई वायर रड, घ्यु, तेल र यसका दाना एवं स्यानिटरी प्याडको भन्सार दर तथा अन्तःशुल्क घटाएको हो । बिहीबार राजपत्रमा प्रकाशित सूचनाअनुसार जीआई वायर रडको भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा ल्याइएको छ । जीआई वायरमा लाग्दै आएको अन्तःशुल्क ४ हजार ५ सय रुपैयाँबाट घटाएर २ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । स्यानिटरी प्याडको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि आयात गर्दा अन्तःशुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

यस्तै पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएको छ । सूर्यमुखी, भटमास, तोरी, रायो, सर्स्युं लगायतका वस्तुको गेडा नै आयात गर्दा यस अघि ५० प्रतिशत रहेको भन्सार छुटलाई बढाएर ९० प्रतिशत पुर्‍याइएको छ ।

विराटनगरमा बजेट लगतै मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको अगुवाईमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै आन्दोलन भएको थियो । त्यसपछि माग सम्बोधन गर्न अर्थमन्त्रीले आश्वासन दिएका थिए । लगतै बजेटमा असम्बन्धित व्यक्तिले प्रवेश पाएको घटना संसदमा उछालियो । त्यसपछि संसदीय छानविन समिति बनेको थियो । अर्थमन्त्रीले राजीनामा दिएका थिए । उक्त समितिले बजेट निर्माण गर्दा त्यस्तो कुनै शंकास्पद गतिविधि नभएको निष्कर्ष निकालेपछि अर्थमन्त्री शर्मा पुनः मन्त्रालयमा फर्केका थिए । फर्के लगतै उनले करका दर हेरफेरका लागि अध्ययन समिति बनाएका थिए । समितिको सुझावका आधारमा सरकारले करका दर हेरफेर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्