प्रदेश राजधानी विराटनगरमा प्रहरीले यसरी सुरु गर्दैछ ‘आत्माहत्या’ रोकथाम अभियान

प्रदेश राजधानी विराटनगरमा प्रहरीले यसरी सुरु गर्दैछ ‘आत्माहत्या’ रोकथाम अभियान

विराटनगर । पछिल्लो पाँचवर्षमा प्रदेश १ मा आत्माहत्या गर्नेको संख्या ६ हजार ७०३ जना पुगेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांक अनुसार ३ हजार ८९७ जना पुरुष, २ हजार १५९ महिलाले आत्माहत्या रोजेकामध्ये ३०० जना बालक र ३४७ जना बालिका छन् ।

अवस्था भयावह बन्दै गएपछि नेपाल प्रहरीले देशैभरी शनिबार विश्व आत्माहत्या रोकथाम दिवसको अवसर पारेर सचेतना अभियान सुरु गर्ने भएको छ । प्रदेश १ मा विराटनगरमा शनिबार बिहान कार्यक्रमको उद्घाटन हुने प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुदिप गिरीले जानकारी दिएका छन् ।

शुक्रबार प्रदेश प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरेर डिआईजी गिरीले देशभरका आत्माहत्या घटनामध्ये प्रदेश १ मा २१ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरेका छन् ।
यसको रोकथामका लागि प्रहरीले गाउँसम्म अभियान लैजाने भएको छ । प्रदेशस्तरको कार्यक्रम शनिबार शुभारम्भ भएसँगै मातहतका १४ जिल्ला प्रहरी कार्यालयले अभियान सञ्चालन गर्नेछन् । त्यस लगतै स्थानीयस्तरमा प्रहरी यूनिटले यो अभियानलाई गाउँसम्म लैजाने भएको छ ।

त्यसका लागि प्रदेश १ प्रहरी कार्यालयले सचेतना पर्चा तयार पारेको छ । स्थानीय तहसँगको सहकार्यमा गाउँगाउँमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरिने डिआईजी गिरीले जानकारी दिएका छन् ।
प्रदेश १ मा गत आर्थिक वर्ष २०७८-२०७९ मा ९२२ जना पुरुष, ४४३ महिला ६२ बालक र ६२ बालिकाले आत्माहत्या गरेका छन् । एकवर्षमा एकहजार ४८९ जनाको घटना भएको हो । अघिल्लो आर्थिक वर्ष २०७७-२०७८ मा एकहजार ५१६ जना, २०७६-२०७७ मा एकहजार ३४४, २०७५-२०७६ मा एकहजार २३४ र २०७४-२०७५ मा एक हजार १२० जना रहेका छन् ।

आत्माहत्या समस्याको समाधान नभएर समस्याको सुरुवात हो भन्ने सन्देश आम नागरिकमा पु¥याउन प्रहरीले अभियान सुरु गर्ने भएको हो । मानसिक समस्या भएका विरामीलाई उपचारमा पठाउन सुझाव दिने, यसले पारिवारिक स्थितिमा पु¥याउने क्षतिबारे जानकारी गराउने, बारम्बार आत्माहत्या गर्ने मानिसले त्यहि बाटो रोज्न सक्ने भएकोले उनलाई परामर्श दिने, तनाव व्यवस्थापन सम्बन्धी अनुशिक्षण दिने, पारिवारिक तनावलाई व्यवस्थापन गराउने जस्ता कार्यक्रम अभियानमा समेटिने डिआईजी गिरीले जानकारी दिएका छन् ।

यस्तै पूर्व संकेत बारेमा जानकारी गराउन नागरिकलाई सचेत बनाईनेछ । पूर्व संकेतको रुपमा बारम्बार मर्ने कुरा बोल्ने र त्यस्तै सामाग्री खोजेर हेर्ने, भविष्यबारे निराशा राख्ने, आफैंलाई घृणा गर्ने, एक्लै बस्न रुचाउने, परिवारका सदस्यसँग टाढा रहने, छटपटी गर्ने, सामाजिक सञ्जालमा निराशा व्यक्त गर्ने जस्ता विषय पूर्व संकेत मानिएका छन् ।

यसको रोकथामका उपायहरुमा आत्माहत्याका पहुँचहरुको (किटनाशक, लागुऔषध, घरेले हतियार) प्रयोग घटाउने छन् । मानसिक समस्या देखिए उपचार गराउने, प्राथमिक स्वास्थ्य सेवा प्रदायकलाई तालिम दिने, साइकोथेरापी र औषधी सेवन गराउने, आफैंमा परिवर्तन गराउन परिवारको माया बढाउने, सकारात्मक सोचको विकास गर्ने छन् ।

देशभर गत एकवर्षमा ५ हजार ९८३ आत्माहत्या घटना भएका छन् । जसमा मधेश प्रदेश एकहजार १५, बागमती ९०१, उपत्यका ५२६, गण्डकी ६९७, लुम्बिनी एकहजार २९७, कर्णाली २९० र सुदुरपश्चिम ५७१ रहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष आठ लाख भन्दा बढी मानिसले आत्माहत्या गर्छन् । एकजनाले आत्माहत्या गर्दा परिवारसहित छ जना प्रभावित बन्ने गरेका छन् । आत्माहत्या प्रयास अथवा आत्माहत्या गर्ने व्यक्तिमध्ये ९५ प्रतिशतलाई कुनै न कुनै किसिमको मानसिक रोग हुने गरेको अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्