विराटनगरमा व्यापार मेला आयोजनामा हानाथाप, उद्योगी व्यापारीबीच दुरी बढ्ने संकेत

विराटनगरमा व्यापार मेला आयोजनामा हानाथाप, उद्योगी व्यापारीबीच दुरी बढ्ने संकेत

विराटनगर । औद्योगिक तथा व्यवसायिक प्रवद्र्धनका लागि विराटनगरमा लगाउने मेलामा हानथाप सुरु भएको छ । उद्योग संगठन मोरङले माघ २६ गतेदेखि फागुन ३ गतेसम्म मेला आयोजना गर्ने तयारी गरिरहेको बेला नेपाल उद्योग परिसंघले हतारहतारमा उस्तै प्रकृतिको मेला आयोजना गर्ने जानकारी दिइएको हो ।

विराटनगरमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले २०५३ सालदेखि ट्रेड एक्स्पो पालैपालो आयोजना गर्दै आएका छन् । २६ वर्षयता आलोपालोमा आयोजना हुँदै गरेको मेलामा नेपाल उद्योग परिसंघले दावी गरेको हो ।
मोरङ व्यापार संघले गतवर्ष मेला आयोजना गरेको थियो । यो वर्ष उद्योग संगठनले मेला लगाउने भन्दै तयारी सुरु गरेको बेला परिसंघले हतारहतार उहि मितिमा एक्स्पो आयोजना गर्ने भन्दै सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । संगठनले विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) लगाउने भनेकै शिर्षकमा परिसंघ प्रदेश १ ले माघ १९ देखि २८ गतेसम्म विराटनगरमा अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी सिआइएन एक्स्पो २०२३ आयोजना गर्ने बताएको हो ।

एउटै महिना, एकैस्थान र मिति समेत सँगसँगै पारेर आयोजना गरिने मेला बारे अहिले विराटनगरमा उद्योगीबीच बहस सुरु भएको छ । उद्योग संगठन मोरङका सल्लाहाकार समेत रहेका निवर्तमान अध्यक्ष भीम घिमिरेले नेतृत्व गर्दै आएको सिआईएन प्रदेश १ ले गरेको कामप्रति विराटनगरका उद्योगी–व्यवसायी समेत सन्तुष्ट देखिएका छैनन् । नेपाल उद्योग वाणिज्य महासंघका छाता संस्था संघ र संगठनका लागि समानान्तर मानिएको सिआईएनले हस्तक्षेप गर्न खोजेको आरोप छ ।

उद्योग संगठन मोरङले तयारी गरिरहेको मेलाको मिति परिवर्तन गर्न नसक्ने बताएको छ । संगठनका अध्यक्ष सुयश प्याकुरेल विराटनगरमा नभएको मौका छोपी सिआईएन अध्यक्ष घिमिरेले पत्रकार सम्मेलन गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । उद्योगी–व्यवसायीको संस्थामा राजनीति सुरु भएपछि त्यसले व्यवसायिक हित हुनेमा समेत आशंका सिर्जना भएको छ ।
उद्योग संगठन र मोरङ व्यापार संघ विराटनगरमा इतिहास बोकेका संस्था हुन् । यी दुई संस्थालाई कमजोर बनाउँदा त्यसको असर उद्योगी–व्यवसायीलाई नै पर्ने एक उद्योगीको बुझाई छ । उनले कहिं कतै यी दुई संस्थाबीच खेल्ने प्रयत्न पछिल्लो दशवर्ष यता भईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उद्योगी–व्यापारीबीचको दुरी बढ्दै जाँदा सरकारीस्तरमा समेत नकारात्मक प्रभाव देख्न थालिएको गुनासो गर्न थालिएको छ ।

उद्योग संगठनको महानिर्देशक चुडामणी भट्टराईले यस्तै अवस्था रहन्छ भन्ने विश्वास आफूमा नरहेको बताएका छन् । उनले दुवै पक्षबीच बसेर कुराकानी गरेर अगाडी बढ्नेमा आफू विश्वस्त रहेको बताए । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उद्देश्य मिल्ने संस्थाबीच दुरी बनाउन नहुने गरि समन्वयमा आफू लाग्ने बताएका छन् ।
उद्योग संगठनले विराटनगरको इतिहासमा पहिलो पटक २०५३ सालमा कोशी महोत्सव, २०५७ मा पूर्वाञ्चल व्यापार मेला, २०६२ मा कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी आयोजना गरेको थियो । त्यसपछि संगठनले २०६६, २०७३ र २०७६ मा समेत विराट एक्स्पो आयोजना गरेको थियो । उद्योग संगठन मोरङ २०२४ सालमा जुद्धबहादुर श्रेष्ठले स्थापना गरेका हुन् ।

परिसंघले माघ १९ गतेदेखि २८ गते सम्म हुने मेलामा आधुनिक ४ वटा डोम रहने र त्यसमा ३५० स्टल रहने सार्वजानिक गरेको छ । तर, यो विषय सार्वजानिक हुनासाथ त्यसले नकारात्मक सन्देश दिएको छ । भर्खरै नेतृत्व छोडेको संस्थाका विरुद्ध उभिएर घिमिरेले बेइमानी गर्न खोजेको आरोप लगाउँदै चौतर्फी आलोचना सुरु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्