विराटनगर । सरकारले चालु आर्थिक वर्ष २०७९÷२०८० को बजेटमा एमएस वायर रड, सेनेटरी प्याड र वनस्पति घ्यूतेलमा बृद्धि गरेको करको दर संशोधन गरेको छ । जसको माग विराटनगरका उद्योगीले गर्दै आन्दोलनमा उत्रेका थिए । गत जेठमा भएको आन्दोलनको माग सरकारले सम्बोधन गरेपछि त्यसको भित्री कथा बाहिरीएको छ ।
सरकारले करका दर घटाउनुमा मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीको ठूलो हात रहेको भन्दै उद्योगीले उनको खुलेर प्रशंसा गरेका हुन् । सोमबार साँझ होटल इष्टर्नस्टारमा आयोजना गरिएको धन्यवाद ज्ञापन कार्यक्रममा मोरङबाट केन्द्रमा निर्वाचित सांसदमध्ये मोदी मात्रै उपस्थित थिए । त्यहाँ जिआई वायर र वनस्पति घ्यूतेलका उद्योगीहरुले मोदीले प्रयासले आन्दोलनको माग सम्बोधन सार्थक भएको भन्दै प्रशंसा गरेका हुन् ।
पायनियर वायरका सञ्चालक एवं मोरङ व्यापार संघका सचिव अनिल शारडाले स्थानीयस्तरका समस्या समाधानमा मोदीको भूमिका उल्लेखनिय भएको बताएका थिए । त्यस्तै प्रिमियर स्टिल वायरका सञ्चालक एवं संघका पूर्व अध्यक्ष पवन सारडाले उद्योगीहरुलाई परेको मर्कामा सहयोग गर्ने मजदुर संघसंगठनदेखि सांसदसम्मको भूमिकालाई बिर्सन नहुने बताएका थिए । उनले सञ्चार क्षेत्र र सांसद मोदीको भूमिकाले सरकारले बजेटमा गरेको विभेद हटाउन सडकको आन्दोलन सार्थक भएको बताएका थिए ।
त्यस क्रममा सांसद मोदीले स्थानीय समस्या मात्रै नभएर हजारौं मजदुरको रोजीरोटीसँग जोडिएको विषयमा आफूले गम्भीर हुनुपर्ने अवस्था रहेको बताएका थिए । उनले उद्योगीहरुको आन्दोलन जायज रहेकोले त्यसले उठाएका माग सम्बोधन हुनुपर्ने माग संसददेखि पार्टीका अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासम्मलाई भेटेर भनेको बताएका थिए । उद्योगीहरुले राजनीतिस्रतको केन्द्रीय लविङमा मोदीको भूमिका ठूलो रहेको भन्दै सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।