विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई बालमैत्री महानगर बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय बाल दिवसको अवसरमा नगर बाल क्लब सञ्जालले विराटनगरमा आयोजना गरेको ‘बालबालिकासँग मेयर-उपमेयर’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले बालमैत्री महानगर बनाउन पूरा गर्नुपर्ने मापदण्ड कडाइका साथ लागू गर्ने उल्लेख गरे । “बालमैत्री महानगर घोषणा गर्न के-के मापदण्ड र सूचकहरु पूरा गर्नुपर्छ हामी पूरा गर्छौं,” उनले भने, “घोषणा गरेर मात्रै हुँदैन कार्यान्वयन पक्ष पनि बलियो हुनुपर्छ, हामी कार्यान्वयन गर्ने गरी घोषणा गर्नेछौं ।” बाल अधिकारको संरक्षण र सम्वद्र्धनमा महानगर लागिपर्ने उनको भनाइ थियो ।
विराटनगर उपमहानगरपालिका हुँदा नै २०७३ सालमै बालमैत्री नगर घोषणा गरिएको थियो । तर विराटनरलाई महानगरपालिका घोषणा गर्दा तत्कालीन झापाबैजनाथपुर र बुधनगर गाउँ विकास समितिलाई विराटनगरमा गाभेपछि भने बालमैत्री नगरले निरन्तरता पाएन । बालमैत्री नगर बनाउन ५१ वटा सूचक पूरा गर्नुपर्छ । बालमैत्री महानगर बनाउने अभियानअन्तर्गत विराटनगर-११ लाई बालश्रममुक्त वडा बनाउन घरमा स्टीकर टाँस्ने अभियान सञ्चालन गरिएको छ ।
उपमेयर शिल्पा निराला कार्कीले गलत संगतबाट बच्न बालबालिकाहरूलाई आग्रह गरिन् । साथीभाइको संगतले धेरै बालबालिकाहरू कुलतमा फस्दै गएको चर्चा गर्दैै उपमेयर कार्कीले उज्ज्वल भविष्य निर्माणका लागि मेहेनत जरुरी रहेको उल्लेख गरिन् । वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेत, वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, कार्यपालिका सदस्य सरिता घिमिरे, महिला तथा बालबालिका शाखाका प्रमुख डिल्ली धिमाललगायतको उपस्थितिमा भएको कार्यक्रममा बालबालिकाहरूले मेयर र उपमेयरलाई विभिन्न जिज्ञासा राखेका थिए । विशेष गरी बालबालिकाहरूले विद्यालयहरूमा सेनेटरी प्याड नभएको, विद्यालयहरूमा पार्टीगत विद्यार्थी संगठनहरू गठन गरिएको, विद्यालयका शिक्षक-शिक्षिकाबाट विद्यार्थीलाई शारीरिक यातना दिने गरेको, विद्यालयका क्यान्टिनहरूमा धु्रमपान हुने गरेको, सीमा नाकामा कडाइ नहुँदा लागूऔषध दुव्र्यसनी प्रयोग गर्ने बालबालिकाको संख्या बढ्दै गएकोलगायतका गुनासो गरेका थिए ।
उनीहरूले बालबालिकाको समस्या समाधानमा महानगर गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । बाल क्लब सञ्जालका अध्यक्ष गौतम मण्डल, पूर्वअध्यक्ष पृतम साह, प्रज्ञा गौतम, सचिव उदिप पोखरेल, सहसचिव आर्य राजभण्डारी, सदस्य कृष्टिना निरौला, विनिता थारु, खुश्बु विश्वास, निशा ठाकुरलगायतले मेयर र उपमेयरलाई बालबालिकासँग सम्बन्धित प्रश्न राखेका थिए ।
यसैबीच, विराटनगरस्थित पूर्वाञ्चल बालआश्रमले पनि राष्ट्रिय बालदिवस मनाएको छ । दिवसका अवसरमा आश्रम परिसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आश्रमलाई सहयोग गर्ने उद्योगी श्रीनिवास सारडा र डा. अमितप्रताप साहलाई सम्मान गरिएको थियो । डा. साहले समय-समयमा आश्रमका बालबालिकाहरूको निःशुल्क रुपमा दन्त परीक्षण गर्दै आएका छन् । सारडा र साहलाई प्रदेश-१ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाङ्फे, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, आश्रमकी अध्यक्ष सीता पोखरेलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे थिए । त्यस्तै कार्यक्रममा आश्रमका बालबालिकाहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अहिलेका बालबालिकाहरू भोलिका देशका कणर्धार भएको बताए । उनले बालबालिकाहरूलाई भविष्यको लक्ष्य निर्धारण गरेर मेहेनतका साथ अध्ययन गर्न आग्रहसमेत गरे । सो अवसरमा सामाजिक विकास मन्त्रालयले आश्रमका बालबालिकाहरूलाई फलफूल वितरण गरेको थियो ।