विराटनगर। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेको भीड लागेको छ । मोरङमा आवेदनका लागि जिल्ला प्रहरी कार्यालय परिसरमा पहिलो दिन नै भीड लागेको हो । प्रहरी कार्यालय पश्चिमको खाली जग्गामा तीनवटा टेन्ट टाँगेर आवेदन बुझ्ने सुविधा मिलाइएको छ ।
एकैचरणमा हुन लागेको चुनावका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना खुलाएपछि आवेदन दिनेको भीड लागेको हो ।
१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ६ असोजसम्म आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिएका छन् ।