मिटरब्याजको आतंक छल्न सुनसरी बर्जुको शुक्रबारेका महिला विराटनगरमा

<span class='c1'>मिटरब्याजको आतंक छल्न सुनसरी</span> <span class='c2'>बर्जुको शुक्रबारेका महिला विराटनगरमा</span>

विराटनगर । सुनसरीको बर्जुगाउँपालिका–१ इन्द्रबहादुर गुरुङले स्थानीय मुरहरीलाल (झमलाल) सरदारसँग ३४ हजार ऋण लिएर दुईवर्षपछि ६० हजार भुक्तानी गर्नुभयो । तमसुक कागज बनाएर सयकडा १० प्रतिशतमा लिइएको ऋण गाउँका भद्रभलादमीको रोहबरमा बुझाएपछि गुरुङ गत भदौ २९ गते लेनदेन मुद्दामा दोषी ठहर भई फरार रहेको अभियोगमा पक्राउ पर्नुभयो ।

इन्द्रबहादुरलाई ६ महिना कैद र एकलाख २७ हजार जरिवाना तोकिएको छ । उहाँ पक्राउ परेपछि श्रीमती रविना टन्डन गुरुङ अहिले अत्तालिनु भएको छ । सरकारले मिटरब्याज पीडितलाई जिल्ला प्रशासनमा उजुरी हाल्न दिएको सूचना जानकारी नपाउँदा गुरुङ जस्तै बर्जुको शुक्रबारे बजारका धेरै सर्वसाधारण विरुद्ध धमाधम अदालतमा लेनदेन मुद्दा दर्ता गराउन थालिएको छ । गुरुङ बाहेक उर्मिला सरदारका श्रीमान् श्याम सरदार विरुद्ध समेत अदालतमा मुद्दा दर्ता गरिएको छ ।

ऋण लगानीकर्ता सरदारले आफुसँग पैसा लिएको कागज भएकोले एकैपटक १२ जना विरुद्ध मुद्दा दर्ता गर्ने जानकारी दिनुभयो । सूचना जारी गरेपछि ऋण दिएर तमसुक फिर्ता नगरिएकाहरुका विरुद्ध धमाधम मुद्दा दर्ता गर्न थालेपछि ऋणबाट मुक्त गराई पाउँ भन्दै पीडितले विराटनगरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
ऋण लिनेहरुको भिन्नभिन्न पीडा छन् । लिएको ऋण तिरेपनि तमसुक फिर्ता नदिएका कारण उनीहरुमाथि अंकुश लगाउने गरिएको हो । श्याम सरदारले पाँचवर्ष अगाडी ९० हजार ऋण लिएर दुईलाख बुझाईसक्दा पनि रकम नबुझाएको भन्दै अदालतमा मुद्दा दर्ता गरिएको पीडित परिवारको गुनासो छ ।

पत्रकार सम्मेलनमा उर्मिला गुरुङले एकलाख लिएर अढाई लाख ऋण बुझाएपछि बाँकी पैसा समेत दिन तयार भएका सरदारसँग ८ लाख रुपिँया लिने कागज गरिएको बताउनुभयो । तर, कागजमा उल्लेख गरिएको रकम हातै नपरी १९ लाख रुपिँयाको तमसुक बनाएर अहिले ब्याज असुल्ने गरिएको गुनासो गर्नुभयो । त्यसमा पनि उनले धितो राखेको दशधुर जग्गा स्थानीय चेतनारायण महतोको नाममा रजिष्ट्रसन सरदारले गरिदिएको पीडितको भनाई छ । तीन महिना मात्रै भएको थियो कारोबारको ।

गाउँभर मिटरब्याज लगानी गर्दै आउनु भएका सरदारले तमसुक फिर्ता नदिएपछि चारदिन अगाडी टालका सबै मिलेर तमसुक माग्ने दिन थियो । त्यसक्रममा शिवो सरदारको हात काटिएको छ । मिटरब्याजी सरदार गाउँमा काठ चिरान मिल सञ्चालन गर्दै आएको स्थानीयको भनाई छ । गुरुङलाई पक्राउ गरेपछि गाउँभरका ऋणीहरुले तमसुक माग्ने योजना बनाएर जाँदा सरदारसहित छोरा सन्दिप र छोरी सीतासँग झगडा परेको दावी पत्रकार सम्मेलनमा गरिएको थियो । सन्दिपले ऋण लिएकाहरुले काठ मिलमा आएर आफूहरुमाथि हातपात गरेको आरोप लगाउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्