विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ ।
पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक नियमको उल्लङ्घन गरी सवारी दुर्घटना बढ्न थालेपछि मोरङ ट्राफिकले गाउँ–गाउँमा पनि सचेतना अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालय विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूलाई ट्राफिक सचेतना मूलक जानकारी गराएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्की, प्रहरी सहायक निरीक्षक दयाराम गौतमहरूलाई ट्राफिक सचेतनाको बारेमा जानकारी गराउनुभएको थियो ।
‘सडक सुशासन र सवारी दुर्घटना न्यूनीकरणको लागि गाउँ–गाउँमा ट्राफिक प्रहरी सचेतना अभियानको थालनी भएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । सवारी दुर्घटना मुख्य सडकमा भन्दा पनि गाँउका भित्री सडकहरुमा बढी दुर्घटना हुने गरेका कारण यो सचेतना अभियान गाँउ गाँउमा थालनी गरेको बताउनुभयो ।
अभियानमा हप्तामा एक दिन मोरङका १७ वटा स्थानियतह रहेको गाउँहरूमा पुगेर स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रहरीसमेतको सहकार्यमा सवारी चालक तथा सडक प्रयोगकर्ताहरूलाई प्रशिक्षण दिई सडक अनुशासनको पालना गराउन पहल थालेको कार्कीले बताउनुभयो ।
अभियानमा गाउँका प्रत्येक विद्यालयहरूमा ट्राफिक प्रहरी उपस्थित भएर एक विद्यालय एक कार्यक्रम अनुरूप सचेतना मूलक कक्षाहरू पनि सञ्चालन गरिने भएको छ । सडक सुशासन तथा दुर्घटना रहित समाजको निमार्णको लागि सुरक्षा, सजकता र जिम्मेवार समेटेर अभिभावक शिक्षा कार्यक्रम पनि सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरगले जनाएको छ ।