विराटनगरमा संक्रामक रोग तथा सघन उपचार केन्द्र सञ्चालनमा आयो

विराटनगरमा संक्रामक रोग तथा सघन उपचार केन्द्र सञ्चालनमा आयो

विराटनगर । प्रदेश १ सरकारले संक्रामक रोग तथा सघन उपचार केन्द्र अस्पताल सञ्चालनमा ल्याएको छ । कोभिड–१९ संक्रमणमा प्रदेश सरकार मातहत विराटनगर–१० स्थित नेशनल ट्रेडिङको भवन प्रयोग गरेर सञ्चालनमा ल्याइएको कोसी कोभिड उपचार केन्द्रलाई संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरण गरेर सञ्चालनमा ल्याइएको हो ।

सरकारको नीति तथा कार्यक्रममा संक्रामक रोग तथा उपचार केन्द्रमा रुपान्तरण गर्ने उल्लेख भए अनुसार गत शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले १६० शै्याको अस्पतालको नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । त्यसैका आधारमा कोसी कोभिड–१९ उपचार केन्द्रलाई संक्रामक रोग तथा सघन उपचार केन्द्रको रुपमा सञ्चालनमा ल्याइएको स्वास्थ्य मन्त्रालयका सचिव अनुप भट्टचनले जानकारी दिनुभयो ।

‘कोभिड–१९ लाई मात्रै केन्द्रमा राखेर स्थापन गरिएको थियो, कहिले बढ्ने कहिले घट्ने तरङ्गमा गएपछि अस्पताल व्यवस्थापन र जनशक्ति परिचालन अव्यवस्थित भयो’ सचिव भट्टचनले भन्नुभयो–अब स्थायी र दिगो संरचनासहित अस्पताल सञ्चालनमा ल्याइएको छ । संक्रामक रोग कोभिड, डेंगु जस्तै अन्य अवस्थाका लागि स्थायी उपचार केन्द्र रहने छ ।

अस्पतालमा अब सरुवा रोग सम्बन्धी उपचार हुनेछ । डेंगुका बिरामीको उपचार सुरु गरिएको छ । अस्पतालका संयोजक डा. कुशल वस्तीले ओपीडीमा स्वास्थ्य परीक्षण गराउने आउने विरामीको संख्या दैनिक एकसय हाराहारीमा रहेको छ ।
अस्पतालमा ५९ जनाको अस्थायी दरबन्दी छ । संक्रामक रोग तथा सघन उपचार केन्द्रका लागि आवश्यक पर्ने जनशक्ति अध्ययन गर्न मन्त्रालयले चाँडै नै कार्यदल बनाउने भएको छ । जनशक्ति व्यवस्थापन चालु आर्थिक वर्ष भित्र गरिसक्ने योजना राखिएको छ । अस्पतालमा २० भेन्टिलेटर शै्या छन् । नयाँ र पुरानो ब्लकमा १६० शै्या रहेका छन् । हाल चारजना मेडिकल अधिकृत र १२ जना नर्स परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्