अपाङ्गता भएका व्यक्तिहरुको रोजगार सुनिश्चित गर्न विराटनगरमा दुईदिने मेला

अपाङ्गता भएका व्यक्तिहरुको रोजगार सुनिश्चित गर्न विराटनगरमा दुईदिने मेला

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुको रोजगार सुनिश्चिताका लागि विराटनगरमा दुईदिने रोजगार मेला आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सहित निजी क्षेत्रका संघसंस्थाको सहकार्यमा आगामी कार्तिक १८ र १९ गते मेला आयोजना गरिने भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले अपाङ्गता भएका व्यक्तिहरुको रोजगार सुनिश्चित गर्ने दायित्व निजी क्षेत्रले समेत लिने उद्देश्यसहित रोजगारदाता र लाभग्राहीबीचको जमघट गराउन लागिएको जानकारी दिनुभयो । मेला बारे बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको थियो ।
प्रदेश १ का आठ जिल्लाबाट ३०० जना लाभग्राही र एकसय रोजगारदातालाई एकैथलोमा राखिने भएको छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, धनकुटा, संखुवासभा, भोजपुर सहभागीता रहने भएको छ । मेलामा सहभागीहरुको व्यक्तिगत विवरण तयार पारेर रोजगारदाताको नक्साङ्कन गरिसकिएको छ ।

विभिन्न नौ क्षेत्रका रोजगारदातासँग दक्षता र क्षमताका आधारमा लाभग्राहीले परामर्श गर्नेछन् । शिक्षा, स्वास्थ्य, उत्पादन, हस्पिटालिटी, गार्मेन्ट, बैंक, विकास साझेदार, साना उद्योग अन्तर्गतका सिलाई–कटाईका स्टल रहने उपाध्यक्ष राउतले जानकारी दिनुभयो । ‘रोजगारदाताको माग र लाभकर्ताको क्षमताको परीक्षण हुनेछ’ उपाध्यक्ष राउतले भन्नुभयो–त्यसका आधारमा उनीहरुलाई छनौट गर्ने र रोजगार सुनिश्चित गरिनेछ ।

निजी क्षेत्रले अपाङ्गतामैत्री व्यवस्थापनसहित उनीहरुको रोजगार सुनिश्चित गर्ने भएका हुन् । रोजगारीमा अपाङ्गता भएका व्यक्ति नछुटौं, राष्ट्र निर्माणमा सबै जुटौं नारासहित आयोजना हुने मेलामा महासंघसहित द लेप्रोसी मिसन नेपाल, राष्ट्रिय अपाङ्गता महासंघ–नेपाल, करुणा फाउण्डेशन छन् । सामाजिक विकास मन्त्रालयले समन्वय गर्ने मेलामा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ, विराट व्यापार संघ सहयोगी छन् । प्रदेश १ मा २५ जना भन्दा बढीलाई रोजगारी दिईरहेका रोजगारदातालाई मेलामा सहभागी गराईने भएको छ ।

प्रदेश १ का ७९ स्थानीय तहले अपाङ्गता रोकथाम कार्यक्रम सञ्चालन गर्दै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले हालसम्म ७५ जनालाई रोजगारसँग जोडेको र १२५ जनालाई स्वरोजगार बनाएको दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्