विराटनगर नर्सिङ्ग क्याम्पसले मनायो ५६ औं वार्षिकउत्सव

विराटनगर नर्सिङ्ग क्याम्पसले मनायो ५६ औं वार्षिकउत्सव

विराटनगर । विराटनगर नर्सिङ्ग क्याम्पसले ५६ औं स्थापना दिवस बिहीबार मनाएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत प्रदेश १ को एक मात्रै क्याम्पसले सफलताको ५६ औं वार्षिक उत्सव मनाएको हो ।

सरकारले अ.न.मी. तालिम केन्द्रको रुपमा स्थापना गरेर प्रविणता प्रमाणपत्र नर्सिङ्ग पढाई हुँदै आएको थियो । २०७६ सालमा फेज आउट भएसँगै बी.एन.एस र बी.एस.सी अध्यापन गराउन थालिएको छ । दुईवटा कार्यक्रममा ४०÷४० विद्यार्थी अध्यनरत रहेको क्याम्पस प्रमुख मेनुका भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादवले सम्मानित पेसा नर्सिङ्ग अध्यापन गर्ने क्याम्पसले दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताउनु भएको थियो । उहाँले विराटनगर नर्सिङ्ग क्याम्पस राष्ट्रियस्तरमै सबैभन्दा अब्बल मानिएको बताउँदै त्यसको निरन्तरताका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो । नर्सिङ्ग अध्ययन अध्यापनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार सम्पन्न बनाउन सरकारले प्राथमिकता दिने उहाँको भनाई थियो ।

यसैगरी विराटनगर महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीले सुलभ शुल्कमा नर्सिङ्ग पढ्न पाउने अवसरले महिलाको जीवनमा परिवर्तन ल्याउने बताउनुभयो । उहाँले विरानगर नर्सिङ्ग क्याम्पसको ओज र गरिमालाई कसैले पनि छेक्न नसक्नेस्तरको रहेको बताउनुभयो । उहाँले क्याम्पसमा थप शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरकारले प्राथमिकता दिए प्रदेश १ का अन्य नागरिकले सुलभ र गुणस्तरको शिक्षा पाउने बताउनुभयो ।

यस क्याम्पसमा अध्ययन गरिसकेका विद्यार्थीहरु राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा अब्बल रहेको क्याम्पस प्रमुख भण्डारीको दावी थियो । मेची–महाकालीका विद्यार्थीले सहुलियतमा अध्ययन गर्ने अवसर पाउँदै आएको बताउँदै उहाँले होस्टलको बसाई र मेसको खाना खाने अवसर पाएका विद्यार्थीमा सामाजिकीकरण हुने बताउनुभयो । क्याम्पसले आर्थिक वर्ष २०७५–२०८० को पाँचवर्षे रणनीतिक योजना अनुसार गुणस्तर सुनिश्चितता एवं प्रत्यायन प्रणालीको थालनी गरेको उहाँले बताउनुभयो ।
क्याम्पसले भौतिक संरचना निर्माणको काम थालनी गरेको छ । स्नातकोत्तर क्यामपस परिसरमा दुई बिगाहा जग्गामा संरचना तयार पार्ने काम सुरु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्