चाडवाडमा घट्यो खानेतेलको मूल्य

चाडवाडमा घट्यो खानेतेलको मूल्य

विराटनगर । कच्चा तेलको आयात शुल्कमा सरकारले कटौती गरेपछि खानेतेलको मूल्य सस्तिएको छ । सरकारले गत भदौ २१ ग्ते कच्चा तेलको शुल्कमा कटौती गरेपछि खानेतेलको मूल्य प्रतिलिटर २० रुपिँयाले सस्तिएको हो ।

अन्तराष्ट्रिय मूल्यका कारण गत साउन यता खानेतेल क्रमशः सस्तो हुँदै आएको थियो । सरकारले कच्चा तोरीको भन्सार महसुल ५ प्रतिशतबाट १ प्रतिशतमा र अन्य तेलको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशत कायम गर्ने निर्णय गरेपछि चाडवाडको मुखमा त्यसले उपभोक्तालाई अझै राहत थपेको हो ।
सरकारको निर्णय अगाडी भन्सार महसुल १० प्रतिशत थियो । पशुपति खाद्यतेलका सञ्चालक अमित शारडाका अनुसार कच्चा पदार्थको मूल्यबृद्धिका कारण गत असारमा महंगिएको खानेतेल अहिले सस्तिएको हो । उद्योगी शारडाले सरकारले चाडपर्वमा उपभोक्तालाई राहत दिने निर्णय गर्नु स्वागतयोग्य भएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सदस्य एवं बागमती आयलका सञ्चालक देवकीनन्दन अग्रवालका अनुसार सनफ्लावर तेलको मूल्यमा भारी कटौती भएको छ । दश लिटर तेलको मूल्य तीन हजार १०० बाट घटेर दुई हजार ४०० मा झरेको हो ।

सरकारले कर घटाएर नेपाली उपभोक्ताले राहत पाउने अवसर दिएपनि सीमापार बजारमा त्यहि अनुरुप मूल्य कायम गरिदाँ माग भने उस्तै देखिएको अग्रवालको गुनासो छ । ‘तेललाई जोगबनीका व्यापारीले प्याकेजमा राखेका छन्’ अग्रवालले भन्नुभयो–अन्य सामान खरिद गर्न पुगेको उपभोक्ताले तेल नेपाल भन्दा कम मूल्यमा खरिद गर्ने अवसर पाएका हुन् । उहाँले सरकारले चाडवाडको समयमा सीमामा कडाई गर्नुपर्ने नीति अवलम्बन गर्न नसकेको अग्रवालको गुनासो छ । सबै मिलेर खुल्ला सीमानाकाबाट अवैध व्यापार चलाएका छन्, जसको असर सरकारको राजश्वदेखि स्थानीय बजारका व्यापारीसम्ममा परेको अग्रवालको भनाई छ ।

असारमा तोरी तेलको उत्पादन (फ्याक्ट्री मूल्य ) मूल्य प्रतिलिटर ३२०, सनफ्लावरको प्रतिलिटर उत्पादन मूल्य ३३०, सोयाबिनको ३००, पामतेल २२५ पुगेको थियो । अहिले तोरीको २९५ देखि ३०० र अन्यको २५०, २२० र १८० मा झरेको छ । अग्रवालले तेलको मूल्य अझै घट्ने बताउनुभयो । उहाँले तिहारमा यसको मूल्य निक्कै तल ओर्लने दावी गर्नुभयो । रुस–युक्रेन युद्धका कारण रोकिएको कच्चाको अहिले आयात सहज बन्दै गएको छ । जसको प्रभाव साउनपछि क्रमशः परेको थियो । भदौ सरकारले महसुल घटाएपछि उपभोक्तालाई ठूलो राहत हुने देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्