विराटनगरमा सुरु भएको स्व. बन्टी भुजेल भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन खेलमा दमकको विजयी सुरुआत

विराटनगरमा सुरु भएको स्व. बन्टी भुजेल भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन खेलमा दमकको विजयी सुरुआत

विराटनगर । विराटनगरमा सुरु भएको ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको उद्घाटन खेलमा झापा दमकको दमक-लखनपुर भेट्रान क्बलले विजयी सुरुआत गरेको छ ।

सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा दमकले मोरङको एभरेष्ट भेट्रान क्लबलाई टाइब्रेकरमा ४-२ गोलमा हराउँदै क्वाटरफाइनलमा पुगेको छ । खेलको निर्धारित समयमा दुवै टोली गोल रहित बराबरी खेलपछि खेलको निणर्य टाइब्रेकरबाट भएको हो । देउमान लिम्बू, पुष्कर धिमाल, प्रेम हेवाङ तामाङ र सुवास आङथुप सुब्बाले दमकका लागि गोल गरे भने शिव चौधरीको प्रहार गोल हुन सकेन । त्यस्तै, एभरेष्टका लागि विमल लिम्बू र दीपक खड्काले गोल गरे भने इन्द्रमणि पोखरेल र अशोक सुनवार गोल गर्नबाट चुके ।

खेलको म्यान अफ द म्याच दमकका गोलरक्षक टंक धिमाल भए । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले गरिन् । उनले महानगरपालिका खेल र खेलाडीको स्तर वृद्धिका लागि सधैँ तत्पर रहेको छ । विराटनगरमा हुने प्रतियोगितामा महानगर खेलाडीहरुलाई सहयोग गर्न तयार रहेको बताइन् । सो अवसरमा एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँलगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।
असोज १५ गतेसम्म सहिद रंगशालामा हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी र सिराहाका १० वटा क्लबको सहभागिता रहेको छ । टिमुरले मुख्य प्रायोजन गरेको प्रतियोगितामा झापा दमकको दमक-लखनपुर भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, सुनसरी इटहरीको जनता भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब, सिराहाको लहान भेट्रान क्लब, मोरङ विराटनगरको मर्निङ भेट्रान क्बल, एभरेष्ट भेट्रान क्बल, विन्दवासिनी भेट्रान क्लब, युनाइटेड भेट्रान क्बल र आयोजक टिमको सहभागिता रहेको खेल संयोजक किशोर धमलाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्यान अफ द म्याच, म्यान अफ द सिरिजलगायतका व्यक्तिगत पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल विराटनगरको युनाइटेड भेट्रान क्लब र इटहरीको जनता भेट्रान क्बल तथा दोस्रो खेल झापाको विर्तामोड भेट्रान क्लब र विराटनगरको विन्दवासिनी भेट्रान क्लबबीच हुने प्रतियोगिता आयोजक कमिटीका सचिव रोहित कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्