विराटनगर बिद्युत बारम्बार अवरोध, आपूर्ति प्रणालीमा छैन समस्या

विराटनगर बिद्युत बारम्बार अवरोध, आपूर्ति प्रणालीमा छैन समस्या

विराटनगर । विराटनगर–३ पोखरीया स्कूल पछाडी मंगलबार दिउँसो बिद्युत सर्ट भयो । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको टोलि तत्काल परिचालित गरिएको प्राधिकरणले जानकारी दियो । बिहान ९ बजे ११ केभीए प्रसारण लाइन अन्तर्गत नहर फिडरमा ट्रिपिङको समस्या देखियो । यहाँ दुई दिन अगाडी ट्रान्सफर्मर जलेर केवल बदली गरिएको थियो ।

बारम्बार भोल्टेज ट्रिपिङका कारण विराटनगर महानगरपालिका भित्र बिद्युत आपूर्तिमा समस्या दोहोरिने गरेको छ । यसको कारण बारे नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रमा प्रमुख रोशन खड्का सामान्य स्थिति रहेको बताउँछन् ।
प्रमुख खड्काले चाडपर्वमा बिद्युत नियमित गर्नका लागि पूर्व तयारीस्वरुप मर्मतका कतिपय कामहरु गर्नुपर्ने भएकोले आपूर्ति बन्द हुने गरेको दावी गरेका छन् । उनले अहिले बिद्युत ओभर लोड नरहेको बताए । मौसम चिसो हुँदै गएका कारण बिद्युत प्रसारण लाइनको भार कम भएको बताएका छन् ।

दैनिक ८३ मेघावाट ‘पिक डिमान्ड’ बिद्युतको वितरण प्रणालीमा जोडिन्छ । वितरण केन्द्रको सेवा क्षेत्रमा ५३८ ट्रान्सफर्मर रहेका छन् । गत वर्ष ५० वटा नयाँ जडान गरिएको थियो । चालु आर्थिक वर्षमा ३० वटा थप्ने योजना रहेको छ । हालसम्म ८ ट्रान्सफर्मर जोडिसकिएको प्रमुख खड्काले जानकारी दिए ।

प्रसारण केन्द्रमा प्रशस्त बिद्युत भार छ । तर, संरचना फितलो हुँदा पनि विराटनगर महानगरपालिका क्षेत्रमा दैनिक जस्तो आपूर्ति प्रणालीमा अवरोध हुने गरेको छ । विराटनगर महानगरपालिकामा पछिल्लो समय बिद्युत आपूर्ति प्रणालीमा बारम्बार अवरोध देखिने गरेको छ ।
वितरण केन्द्रले चारवटा सव–स्टेशनबाट २५ ग्रिडमार्फत बिद्युत आपूर्तिको व्यवस्थापन गर्दै आएको छ । टंकीसिनवारी, रानी, बाँसबारीको भट्टीपुल र कटहरी सव–स्टेशन अपग्रेड छन् । ‘लोड सेन्टर’ पारेर ट्रान्सफर्मर जडान गर्न समेत विराटनगरमा समस्या रहेको छ । विराटनगरमा ट्रान्सफर्मर राख्ने ठाउँको अभाव समेत हुने गरेको छ ।

बिद्युत प्रणारण लाइन (केवल) ३० वर्गमिलिमिटर (ओ–थ्री)बाट १०० वर्गमिलिमिटर (डग कन्डक्टर)मा स्तरोन्नती समेत गरिएको छ ।केहि क्षेत्रमा गरिएपनि सबैतिर यसको काम सकिएको छैन । सर्किट स्तरोन्नतीसँगै त्यहाँबाट आपूर्ति हुने बिद्युत व्यवस्थापनका लागि विराटनगर महानगरसहित कटहरी, जहदा, ग्रामथान र बुढीगंगा गाउँपालिकामा ट्रान्सफर्मरको संख्या ६०० पुग्नुपर्ने हुन्छ । विराटनगर महानगर क्षेत्रमा मात्रै ट्रान्सफर्मरको संख्या ४०० बढी आवश्यक भईसकेको छ । त्यस बाहेक कटहरी, ग्रामथान, बुढिगंगालाई १७० ट्रान्सफर्मर आवश्यक पर्छ । बस्ती विस्तार हुँदै जाँदा आवश्यकता आधारमा ट्रान्सफर्मर जडान हुँदै जाने प्राधिकरणको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्