विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना

विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना

विराटनगर । प्रदेश १ का तीन प्रमुख नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटक लक्षित गरेर विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को कार्यालय बरगाछीमा पर्यटन सूचना केन्द्रको मंगलबार स्थापना गरिएको हो ।

प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने सवै पर्यटकलाई प्रमुख गन्तव्यको जानकारी दिने, होटल र ट्राभल्स लगायतका सेवा प्रदायक निकायको सूचना विवरण अद्यावधिक राख्ने र पर्यटकको तथ्यांक राख्ने कार्यका लागि सूचना केन्द्र स्थापना गरिएको हो । इलामको पशुपतिनगर र झापाको विर्तामोडमा सूचना केन्द्र स्थापना भएपनि विराटनगरको रानी नाकामा अझै पनि पर्यटन डेस्क स्थापना थिएन । विराटनगरमा सूचना केन्द्र सञ्चालनमा आएसँगै त्यससँग सम्बन्धि सम्पूर्ण विवरण विराटनगर केन्द्रीत गरिने भएको छ ।

पर्यटन सूचना केन्द्रको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य, प्रदेशका उपाध्यक्ष एवं मुख्यमन्त्रीका प्रमुख आर्थिक सल्लाहाकार राजेन्द्र राउतले अब धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको प्रदेश १ बारेको जानकारी एकिकृत गरिने बताउनुभयो । उहाँले विराटनगरबाट प्रदेश १ का सबै जिल्लामा हवाई उडान सञ्चालन गर्न संघीय सरकारसँग आग्रह गरिने र १६ वटा आन्तरिक विमानस्थल संचालन गराउन पहल लिने बताउनुभयो ।

प्रदेश १ मा पर्यटकलाई आकर्षण गर्न आवश्यक पर्ने राम्रा होटलसहितका पर्यटन पूर्वाधारमा अझै कमी रहेको व्यवसायीको भनाई छ । महासंघको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगत सूचना केन्द्र स्थापना गरिएको राउतले जानकारी दिनुभयो ।
महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले विराटनगर विमानस्थलमा पनि इमिग्रेशनको व्यवस्था गर्न सके पर्यटकहरुलाई सहज हुने बताउनु भएको थियो । उहाँले पर्यटन क्षेत्रलाई राज्यले ठुलो आर्थिक स्रोतका रुपमा उपयोग गर्न नसकेको बताउनुभयो । प्रदेश १ मा सहासिक र धार्मिक पर्यटनको विकासको सम्भावना रहेकोले बढि ध्यान त्यसैमा दिन सरकारलाई आग्रह गर्नुभयो ।

पर्यटन दिवसको अवसर पारेर नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको सहयोगमा पर्यटन सूचना केन्द्रको स्थापना हुनु सकारात्मक भएको पर्यटन समितिका संयोजक भविष कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले १४ वटै जिल्लाका पर्यटकीय स्थलहरुको जानकारी, पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था, सहासिक पर्यटन सम्वद्ध कम्पनीहरु, टुर गाइड, ट्राभल्स एण्ड टुर्स, होटल लगायतका जानकारीहरु सूचना केन्द्रमा रहने बताउनुभयो ।

सूचना केन्द्रमा पर्यटनसम्बन्धि जानकारी दिनसक्ने दक्ष जनशक्तिको व्यवस्था गरिने र त्यसका लागि प्रदेश सरकार अन्तरगत पर्यटन तथा संस्कृति मन्त्रालयलाई आग्रह गरिएको छ । आगामी दुई महिनाभित्र सूचना केन्द्रलाई प्रभावकारी रुपमा संचालन गर्न पर्यटन क्षेत्रसँग सम्वद्ध १६ वटा निकायहरुसँग समन्वय भइरहेको श्रेष्ठको भनाई थियो । महासंघ प्रदेश समितिका सदस्य रविन दाहालले सूचना केन्द्र स्थापनापश्चात प्रदेशको पर्यटन विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्