विराटनगर–६ को बेबी आईसक्रिम उद्योगमा अनुगमन, परीक्षणका लागि नमूना संकलन

विराटनगर–६ को बेबी आईसक्रिम उद्योगमा अनुगमन, परीक्षणका लागि नमूना संकलन

विराटनगर । विराटनगर–६ स्थित बेबी आईसक्रिम उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गरि नमूना संकलन गरेको छ । गत ११ गते विराटनगर–३ स्थित आईस केक तथा आईसक्रिम पार्लरमा उपभोक्ताले खरिद गरेर खाने क्रममा सीमाको टुक्रा फेला परेको विषय सार्वजानिक भएपछि परीक्षणका लागि अनुगमन गरेर नमूना संकलन गरिएको हो ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले संयुक्त बजार अनुगमन टोलिले स्थलगत अनुगमन गरेर नमूना संकलन गरी परीक्षणका लागि पठाएको जानकारी दिएका छन् ।

उपभोक्ताले एकसय एमएलको बटर स्कोच आईसक्रिम किनेर खाँदा सीसा जस्तो देखिने साह्रो वस्तु भेटेका थिए । जसको विषयमा आवर विराटनगरले समाचार प्रकाशित गरेको थियो । उद्योगका सञ्चालकले उक्त टुक्रा चिनी र काजुको क्रिस्टल भएको हुनसक्ने दावी गरेका छन् । आईसक्रिमलाई आकर्षण र स्वादिष्ट तथा क्रन्ची बनाउन यस्तो क्रिष्टल प्रयोग गरिने सञ्चालकको दावी छ । सीसा हुनै नसक्ने भएकोले उपभोक्ता झुक्किएका कारण आफ्नो उद्योगको उत्पादन र बजारीकरणमा असर परेको सञ्चालक देवनारायण मेहताको भनाई छ ।

तर, सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि त्यो वस्तु सीसा हो की क्रिष्टल भन्ने यकिन गर्न बजार अनुगमन समितिले बिहीबार उद्योगको निरीक्षण गरेर नमूना संकलन गरेको थियो । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका प्रमुख रिजालले अब ल्याबमा उक्त आईसक्रिम पठाउँदा कैफियत प्रमाणिकरण भए उद्योगका सञ्चालकको बयान लिने र मुद्दाको प्रक्रियामा जाने बताएका छन् ।

रिजालले उपभोक्ताले खरिद गरेको वस्तु खाने क्रममा भेटिएको टुक्रा तत्काल खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयको टोलिलाई बोलाएर बुझाउन सकेको भए यकिन गर्न सहज हुने बताएका छन् । तर, यदि त्यहि लटको अन्य आईसक्रिममा फल्ट भएको वा नभएको यकिन गर्नका लागि नमूना संकलन गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्