विराटनगर महानगरको सरसफाई विशेष अभियान चौथो हप्तामा प्रवेश

विराटनगर महानगरको सरसफाई विशेष अभियान चौथो हप्तामा प्रवेश

विराटनगर । विराटनगर महानगरपालिकाले सुरु गरेको महानगर सफाई विशेष अभियान चौथो हप्तामा प्रवेश गरेको छ ।
अभियानअन्तर्गत शुक्रबार विराटनगर वडा नम्बर १ को त्रिवेणी मार्ग र आसपासको क्षेत्रको सफाई गरिएको छ । झाडु बोकेर महानगरका मेयर नागेश कोइराला सफाई अभियानमा आफैं खटिएका थिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, विराटनगर वडा नम्बर १ को समन्वयमा भएको अभियानमा विराटनगर–१ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ५ का जितन थापा, ४ का सन्तोष न्यौपानेसहित कर्मचारी, नगर प्रहरीलगायतको सहभागिता रहेको थियो ।
महानगरको सफाई विशेष अभियानमा स्थानीयले समेत साथ दिएका थिए । घर–घरबाट निस्किएर स्थानीयले सडक, फुटपाथ र नालीको सरसफाई गरेका थिए । “हामी सबै मिलेर काम गर्‍यौं भने पक्कै पनि महानगर सफा, सुन्दर, हरियाली बन्नेछ,” महानगरका मेयर नागेश कोइरालाले भने, “कम्तीमा आफ्नो घर, पसल र कार्यालय अगाडि सफा राख्ने बानी गरियो भने महानगर त्यतिकै सफा हुन्छ ।” मेयर कोइरालाले अहिले सरसफाईलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बाहिरबाट आउने आगन्तुकले पहिलो पटक त सहरलाई नै हेर्ने उनको भनाइ छ । फोहोर भयो भने पहिलो पटक बाहिरबाट आउने मानिसमा नकारात्मक प्रभाव पर्ने कोइरालाले बताए । उनले सरसफाई अभियानमा सहभागी हुन उनले महानगरवासीलाई आह्वानसमेत गरे ।
सरसफाई विशेष अभियानमा जनसहभागिता बढ्दै गएको वडा नम्बर १ का अध्यक्ष काजी बस्नेतले बताए । वडा नम्बर १ ले समन्वय गरेको शुक्रबारको अभियानमा स्थानीयको उल्लेख्य सहभागिताले आफूहरु उत्साहित भएको उनको भनाइ थियो । महानगरले विराटनगरलाई उक्तरी, मध्ये र दक्षिणी क्षेत्रमा बाँडेर हरेक शुत्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्