सुजता लिम्बु
विराटनगर । हातमा सानो कागजको चिट, डटपेन बोकेर सुस्तरी परीक्षा हलबाट बाहिरीए उनी । लक्का जवान भविष्यका केही थान सपना बोकेर म्यादी प्रहरीको लिखित परीक्षा दिन आएका थिए लेटाङका युवाराज पौडेल । ‘रहर त थिएन बाध्यताले आइयो हेरौँ अब पास हुने हो कि फेल ?’ साथीसँग संवाद गर्दै परीक्षा हलबाट बाहिरीएका उनी म्यादी परीक्षाको सफलतासँगै सेक्ुयुरिटी गार्डका लागि विदेश जाँदा सहज हुने बताउँछन् ।
‘म्यादी पास गर्न सके नेपालमै बसेर केही गरौँ भन्ने सोँच हुनेले प्रहरीमा भिड्न सहज हुन्छ रे, वैदेशिक रोजागारीका लागि सेक्यूरिटी गार्डमा पनि सहज हुन्छ भन्ने सुनेको थिए,’ उनले भने ‘केही समय भए पनि देशको सुरक्षा गर्न सकिने भन्ने सोँचले आएको हेरौँ अब के हुन्छ ।’
विराटनगर—४ का १९ वर्षीय मनिस राजवंशीको पनि सपनाका चाङहरु उनी सँगै परीक्षा दिन आउने साथीहरुको भन्दा कम छैन । सकेसम्म नेपालमै बसेर रोजगारी गर्ने भन्ने उनको सोच छ । तर, नेपालमा भने जस्तो आयस्रोत नभए वैदेशिक रोजगारीका लागि परदेशीने उनकोे भावि योजना छ ।
निर्वाचन कसरी हुँदोरहेछ, प्रहरीले कसरी सुरक्षा दिनेरहेछ भन्ने प्रश्न सँगै भावि दिनमा रोजिरोटीका लागि परदेशीन परे हातमा सुरक्षाकर्मीको प्रमाणपत्र लिएर जान पाए राम्रो काम पाइने भन्ने कुराले पनि म्यादी प्रहरीमा आफू आकर्षित भएको उनले बताए । ‘रहर बाध्यता दुवै मिसिएको छ, हाँस्दै सुनाए,मलाई निर्वाचन कसरी हुन्छ, सुरक्षाकर्मीहरुले दिनरात खटिएर कसरी सुरक्षा दिन्छन् भन्ने जान्नु पनि थियो र पछि विदेशमा काम गर्न जाँदा सुरक्षा गार्डका लागि रोजगारी सहजै मिल्छ भन्ने सुनेको थिए, त्यसैले प्रमाणपत्रका लागि भए पनि म म्यादीको परीक्षा दिन आएको हो ।’
पौडेल र राजवंशी जस्तै म्यादी प्रहरीमा भर्ती हुन आउनेहरुका सपना अनेक छन् । कलेजमा अध्ययन गर्ने देखि कामबाट विश्राम लिएका समेत म्यादीमा आकर्षित भएका, वैदेशिक रोजगारीका लागि सहज हुने भन्दै म्यादीमा पुगेका र अनुभव लिन पुगेका जस्ता अरु धेरै सपना बोकेका युवाहरु भर्नाका लागि आउने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठ बताउँछन् ।
आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा एवम्, प्रदेशसभाको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै पछिल्लो समय म्यादी प्रहरीमा युवाहरुको लाम छ ।
जम्मा ३ हजार ६१६ जनाको कोटामा लिखित परीक्षा दिने नयाँ ३ हजार २६६ जना पुगेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । नयाँ ५ हजार ८७० जनाले फारम भरेका थिए । फर्म भरेकामध्ये ३ हजार २६६ जनाले लिखित परीक्षामा सहभागी भए । स्थानीय तहको निर्वाचनमा म्यादीमा खटिएका २ हजार १३१ र पूर्व सुरक्षाकर्मी १०६ गरि २ हजार २३७ जना लिखितमा पास भए सरह मानिन्छन् । उनीहरुलाई अन्तवार्तामा सहभागी गराईने छ । लिखित पास गरेकामध्ये नयाँबाट १ हजार ३९७ जना मौखिकमा पास हुनेछन् । प्रवक्ता श्रेष्ठका अनुसार यदि पुरानो म्यादीबाट अन्तवार्तामा सहभागी हुनेको संख्या हेरेर नयाँको कोटा निर्धारण हुनेछ ।