काठमाडौं । विजया दशमीको टीका असोज १९ गते बुधवार परेको छ ।
दशैंको टिकाको दिन यस पटक वर्षा हुने सम्भावना देखिएको छ । आज नवमीको दिन पनि पूर्वी नेपालका अधिकांश ठाउँमा पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।
आज नवमीको दिन दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । राति भने लुम्बिनी, बागमती, गण्डकी, मधेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
असोज १९ गते दशैंको टीकाको दिन देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।
असोज २० गते एकादशी र २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ ।
त्यसैले पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र सडक तथा हवाई यातायात तथा कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् असोज १५ गते भए तापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने महाशाखाले जनाएको छ ।