विराटनगर । ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । उनी विरुद्ध काठमाडौंका एक युवाले उमेदवारी खारेज हुनुपर्ने माग गर्दै उजुरी दिएका हुन् ।
सुनसरी क्षेत्र नंं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदार विरुद्ध निर्वाचन कार्यालयमा उजुरी दर्ता गरिएको छ । काठमाडौं ७ बस्ने युवा विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उम्मेदवारी खारेजीको माग गरेका छन् । उनले आयोगमा उजुरी दिएपछि सम्बन्धित निर्वाचन क्षेत्रमा उजुरी पठाउन आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्देशन दिएका छन् ।
आयोगले हिजो आइतबार उम्मेदवारी दर्ता गराएकाहरु विरुद्ध आज उजुरी आब्हान गरेको थियो । सोहि अनुसार ललिता निवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदार विरुद्ध उजुरी परेको हो । भ्रष्टाचार, फौजदारी अभियोग लागेकाहरुले चुनाब लड्न मिल्दैन ।
उजुरी अनुसार २०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदारसहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर गरेकोमा आरोपित गच्छदार १० लाख धरौटीमा रिहा भएका हुन् । गच्छदारलाई २०६७ सालमा भौतिक, योजना तथा निर्माणमन्त्री भएको बेला सरकारी जग्गा व्यक्तिलाई नामसारी गराएको आरोप छ । प्राप्त उजुरी अध्ययन गरी छानविन गरिने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।