विराटनगर । संयुक्त बाम–लोकतान्त्रिक गठबन्धनको बैठकले स्वतन्त्र उम्मेदवारीहरुले नामवली फिर्ता नगरे पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसका मोरङका सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा सोमबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको नामावली मनोनयन गर्ने क्रममा गठबन्धनको भावना र मर्म विपरित पार्टीका नेताहरुले स्वतन्त्र उम्मेदवारको नाममा उमेदवारी दर्ता गराए उनीहरुलाई कारवाही गरिने निर्णय गरिएको छ ।
यस्ता उमेदवारको हकमा सम्बन्धित पार्टीको केन्द्रिय समितिमा सिफारिस गर्ने र संचार माध्यमबाट सार्वजनिक गर्ने निर्णय गरिएको छ । नेपाली काँग्रेसका कार्यवहाक सभापति एवम् विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, नेकपा मओवादी केन्द्रका मोरङ इन्चार्ज गोपी आछामी, नेकपा (एकिकृत समाजवादी) का मोरङ अध्यक्ष चन्द्रवीर राई, लोसपाका मोरङ इन्चार्ज अमरेन्द्र कुमार साह उपस्थित संयुक्त बैठकले निर्वाचन लक्षित ४ वटा निर्णय गरेको छ ।