विराटनगर । मोरङमा ४० हजार मतदाता रहेको राजबंशी समुदायको प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व नगराइएको गुनासो गरिएको छ ।
विराट राजबंशी युवा समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूहरुले मत हाल्न नसक्ने संकेत दिइएको हो ।
झापा, मोरङ र सुनसरीमा रहेका राजबंशीहरुमध्ये मोरङमा विराट राजबंशी रहेको समितिका अध्यक्ष बिक्रम राजबंशीले जानकारी दिनुभयो । मोरङमा धेरै मतदाता रहेपनि कुनैपनि दलले एकजना पनि प्रतिधित्व गराउन नचाहेको उहाँको गुनासो थियो ।
प्रत्यक्ष र समानुपातिकतर्फ कुनैपनि दलले सिफारिस नगरेको विराट राजबंशी समाजका उपाध्यक्ष प्रदिपकुमार विश्वासले बताउनुभयो । सधैं राजनीतिक दलमा आवद्ध भएर बसेपनि अवसरबाट जहिल्यै बन्चित गराइएको उहाँको गुनासो थियो ।
जहिल्यै एकै व्यक्ति निर्वाचनमा उठ्ने र उसैलाई मत हाल्नुपर्ने बाहेक अर्को अवसर नदिने गरिएको विराट राजबंशी समाज केन्द्रीय सदस्य जानुका राजबंशीको गुनासो थियो ।
उहाँले एउटै जातिले मात्रै अवसर पाउने गरि उमेदवार छनौट हुँदा पछाडी परेको समुदायको प्रतिनिधित्व हुन नसकेको बताउनुभयो ।