विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका स्वतन्त्र उमेदवार योगेन्द्र मण्डलले आफ्नो क्षेत्रको विकासका लागि शिक्षा स्वास्थ्य र कृषी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
उनले पत्रकारहरुसँग कुराकानी गर्दै भने, क्षेत्र नं. ५ विकासको दृष्टिकोणले पछि परेको र पहिला निर्वाचित भएर गएकाहरुले जनताको विकास नगरेका कारण जनताले चाहेअनुरुपको काम गर्न उम्मेदवारी दिएको बताए ।
आफ्नो निर्वाचन क्षेत्रका मानिसहरु कृषिमा आश्रित भएका कारण कृषिको विकासमा जोड दिने उनले बताए ‘यो क्षेत्रका मानिसहरु कृषिमा आश्रित छन्, उनीहरुको हितका लागि अघिल्ला प्रतिनिधिले कुनै काम गरेका छैनन्,’ मण्डलले भने, ‘कृषिको विकास गर्न, कृषिलाई प्राथमिकतामा राखेर यसको आधुनिकिकरण गरेर जनताको जीवनस्तर उकास्न मेरो उम्मेदवारी हो ।’
आफूले २५ वर्षदेखि अनवरतरुपमा समाजसेवामा लागेर गरिबीरहित नेपालको परिकल्पनासहित क्षेत्र नम्बर ५ लाई पनि गरिबीरहित बनाउने उद्देश्यकासाथ काम गरिरहेको उनले बताए । यसअघि यो क्षेत्रबाट जितेका नेताहरुले केही काम नगरेको उनको भनाई छ । संस्थाका कुनै पनि व्यक्ति र कर्मचारीलाई आफूले चुनाव प्रचारका गतिविधिमा सामेल नगराउने उनले बताए । आफू संस्थाको सबै पदबाट राजीनामा दिएर राजनीतिमा आएका कारण अब भिजन दिएर जनताको काम गर्नेमा उनले जोड दिए ।
जीवन विकास समाजका संस्थापकसमेत रहेका मण्डलले दुई हजार बढीलाई प्रत्यक्षरुपमा रोजगारी दिइरहेको र धेरै किसानहरुलाई लगानीकर्ता बनाएको बताए ।
यो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादीका शिवकुमार मण्डल उम्मेदवार छन् । एमाले जसपा तालमेलबाट जसपाका राजकुमार यादव उम्मेदवार बनेका छन् ।