राजनीतिक दास बनाउने प्रथाको विरुद्ध मेरो उम्मेदवारी : रेखा थापा

राजनीतिक दास बनाउने प्रथाको विरुद्ध मेरो उम्मेदवारी : रेखा थापा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले यतिबेला देशको राजनीतिक माहोल ततिएको छ । यो निर्वाचनमा व्यवसायी देखि कलाकारसम्मको उम्मेदवारी रहेको छ । यसै क्रममा नेपाली चलचित्र जगतकी आँटीली नायीकाको रुपमा चिनिने अभिनेत्री रेखा थापाको पनि गन्तव्य मोडिएको छ । सँधै जस्तो हुँदो हो त उनको चलचित्रको ट्रेलर या उनले निर्माण गरेको नयाँ चलचित्रको समाचार पढ्न या सुन्न पाइन्थ्यो । तर, पछिल्लो समय उनको समाचारको हेडलाइन नै परिवर्तन भएको छ । उनी यतिबेला राजनीतिक क्षेत्रमा डेब्यु गर्दैछिन् । उनले राप्रपा नेपालको तर्फबाट प्रतिनिधिसभाका लागि मोरङ क्षेत्र नम्बर—३ बाट उम्मेदवारी दिएकी छिन् । जुन क्षेत्रबाट उनले उम्मेदवारी दिएकी छिन सोही क्षेत्रबाट पूर्व स्वास्थ्यमन्त्री एमाले नेता भानुभक्त ढकाल र नोबेल मेकिल कलेजका सञ्चालक सुनिल शर्माको पनि उमेदवारी छ । यी दुई ठूूला दलका नेताहरुको माझ आफूलाई सानदार जित हाँसिल गर्न सक्छिन् या सक्दिनन् ? भन्ने विषयमा रहेर सुजाता लिम्बूले अभिनेत्री\नेतृ रेखा थापासँग गरिएको संक्षिप्त कुराकानी ।

१. निर्वाचनको कस्तो तयारी गर्दै हुनुहुन्छ ?
निर्वाचनको तयारी राम्रैसँग चलिरहेको छ । म मतदाता भन्न रुचाउदिन यो मेरो निर्वाचन क्षेत्रको भविष्य सुनौलो बनाउने लगानीकर्ता भन्न रुचाउँछु । उहाँहरुसँग भेटघाटमा छु । यो क्षेत्रलाई सुन्दर बनाउने महाअभियानमा जुटेको छु । क्षेत्र नम्बर ३ मा जन्मेर एउटा कलाकारको हैसियतले मेरो नाम चिनाउन सफल भएकी छु । यो यहीँको आमाबुवा, दाजुभाई दिदिबहिनीको माया आर्शिवाद र स्नेहले हो । अब म बनिसके अब यो क्षेत्रलाई बनाउने उद्देश्यले आएकी छु ।

२. निर्वाचन क्षेत्रमा नागरिकको कस्तो प्रतिक्रिया पाईरहनु भएको छ ?
मोरङ क्षेत्र नम्बर ३ को २६ वटै वडामा भेटघाटमा जाँदा जुन प्रकारको ‘रेस्पोन्स’ पाएँ मलाई प्रेरणा मिलेको छ । एउटा विकल्पको खोजी राजनीतिको स्वाद नचाखेको मान्छेलाई अर्थात एउटा युवालाई काम गर्ने मौका दिनुपर्छ भन्ने भावना पाए । त्यसले मलाई थप हौसला र उत्साह थपिदिएको छ ।

तपाई जुन क्षेत्रबाट निर्वाचन लड्दै हुनुहुन्छ त्यो क्षेत्रमा ठूला दलका दुई नेताको प्रतिस्पर्धा हुँदैछ, उहाँहरुको चेपुवामा चुनाव लड्न सहज छ त ?
हामीले ५ वर्ष अगाडी मत दिएर पठाएको व्यक्तिको चरित्र त छर्लङ्ग भईसकेको छ । उहाँले के गर्नुभयो र के गर्नु भएन भनेर । विजयी भएर ठाँउमा पुगेपछि आफ्नो निर्वाचन क्षेत्रमा कतिपटक आउनुभयो ? मेरो घर त यहीँ हो । घर, परिवार, छिमेक लगायत सबै वडाबासीको कुरा सुनेको छु । आफै पनि यहीँको मान्छे भएकाले मैले पनि देखेको छु । मेरो प्रतिस्पर्धा कसैसँग होइन् । मेरो प्रतिस्पर्धा राजनीतिक दास बनाउने प्रथाको विरुद्ध हो । मेरो प्रतिस्पर्धा कसैसँग छैन । म स्वच्छ भावना र काम गर्ने आँट लिएर आएको हुँ । क्षेत्र–३ का बासीलाई हरेक निर्वाचनमा सपना देखएर तुहाएको छ । हाम्रो मतको दुरुपयोग भएको छ । हाम्रो मत वीच बाटोमा बेचिएको छ । त्यो अब हुन नदिनका लागि निर्वाचनको मैदानमा उत्रिएकी हुँ । यो युवाको लडाँई हो । यो युवाको विद्रोहा हो ।

४. तपाईले आफ्नो उम्मेदवारी राजनीतिक दास बनाउने प्रथाको विरुद्धको प्रतिस्पर्धा हो भन्नुभयो, तपाई आफै एउटा राजनीति दलमा आवद्ध हुनुहुन्छ होइन र ?
म यसलाई यसरी प्रस्ट पार्छु । एक हिसाबले म दलमा नै भए पनि म ‘ननटेष्टेड’ मान्छे हो । यो त मेरो राजनीतिमा ‘डेब्यु’ हो । एक हिसाबले भन्नुपर्दा नयाँ अनुहार हो, निस्कलंक मान्छे हो । मैले पाएको जिम्मेवारीको क्षेत्रमा इमान्दारीपूर्वक परिवर्तन गरेर देखाउँछु । मैले चलचित्र क्षेत्रबाट नै परिवर्तनको मार्ग पहिल्याएको हो । महिला पनि नायक बन्न सक्छे भन्ने विषयलाई प्रमाणित गरेको व्यक्तित्व हो म । त्यसैले पनि स्वतन्त्रको कुरा उठिरहँदा मलाई काँग्रेस, एमाले, अन्य जति पनि पार्टीहरु छन् सबै पार्टीको म साझा मान्छे हुँ । मलाई स्वतन्त्रको नजरले हेर्दा हुन्छ ।

५. एउटा दलको आस्थामा हुनुहुन्छ कसरी स्वतन्त्र मान्ने ?
अहिले पछिल्लो परिपेक्षमा हामी दलिय व्यवस्थामा छौँ । दलको विकल्प दल नै हुन्छ । राज्य निति बनाउने कुरामा, भोली सत्ता संचालन गर्ने विषयमा दलको आवश्यकता पर्छ । तर, यो क्षेत्रको विकास गर्ने, पक्का काम गर्ने हौसाल सहित एउटा युवा आएको छ । म नाम, दाम कमाउन आएको होइन । हामीलाई वर्षौ देखि राजनीति दास बनाएको थियो । दास प्रथाको अन्त्य गर्न आएको हो म । र मेरो चुनाव चिन्ह हलो भए पनि मलाई स्वतन्त्र मान्दा हुन्छ । मलाई पार्टीबाट धेरै बन्देज बनाएको छैन । र हाम्रो पार्टीमा त्यस्तो प्रथा पनि छैन । हाम्रो अध्यक्ष नै जनता भन्दा ठूलो अरु कोही हुँदैन भन्ने सोँच बोकेको हुनुहुन्छ । हामीलाई अध्यक्षले हामीलाई एउटै भन्नुभएको छ जनताको मुद्दा बाहेक अन्य कुनै कुरामा दुईमत नराख्नु जनताको जनप्रतिनिधि भइरहँदा ५ वर्ष जनताको माझ बस्नु र काम गर्नु भन्ने कसम खुवाएर पठाउनुभएको छ । हामी युवालाई थप चुनौती छ । त्यसैले पनि मलाई दलको आँखाले भन्दा पनि ३ नम्बर क्षेत्रमा सबैको साझा उम्मेदवार हो ।

६. अघिल्लो निर्वाचनमा सुकुम्बासी समस्या समाधानको एजेण्डाको आधारमा नेतृत्व चुनिनुभएको थियो, पुनः ५ वर्षका लागि जनताले नेतृत्व चुन्नुपर्ने भएको छ । यो क्षेत्रका जनताले रेखा थापालाई नै किन मत दिने ?
म आफै सुकुम्बासी नै हुँ । हाम्रो पनि धनिपुर्जा छैन । मैले बाल्यकाल देखि सुकुम्बासी समस्या हल गर्ने भन्ने एजेण्डाले मेरो परिवार सहित हाम्रो क्षेत्रका जनताको मत दुरुपयोग भएको देखेकी छु । सँधै आउने निर्वाचनमा जितेर जानेले गर्लान भन्ने आशा थियो । तर, गरेनन् किनभने सबै बाहिरबाट आएका मान्छेहरु थिए । स्थानीय नेता नै जनप्रतिनिधि थिएन । त्यसैले यो सुकुम्बासी, भूमीहिनको समस्या रेखा थापाको समस्या हो । किनकी म आफै त्यो जमिनमा उभिएको पिडित पात्र हुँ । करिब ४० हजार हाराहारी धनीपुर्जा बिहिन छन् । मैले यो पिडालाई उठान गर्नुपर्छ । यसका लागि मैले सडक देखि सदनसम्म आवाज उठाउनुपर्छ । यो भन्दा अगाडीको जनप्रतिनिधिले के ग¥यो, के गरेन भन्नेमा भन्दा पनि अब मैले यो क्षेत्रको समस्यालाई मेरो समस्या हो भन्ने ठानेर निर्वाचन मैदानमा होमिएकी छु । भूमिहिन सुकुम्बासीको समस्यालाई भोटर बैंक बनाउन पल्केकाहरुले यसलाई सफल हुन दिदैनन् । त्यसैले यो कामको अन्त्य म गर्नुसक्छु भन्ने विश्वासको साथ र यो कामलाई सफल बनाउन सक्छु भन्ने मेरो प्रतिवद्धता छ । मैले यो समस्यालाई एजेण्डा बनाएर भन्नु जरुरी छैन म आफै पिडित हुँ । र अर्को कुरा स्वास्थ्यको कुरा गरौँ स्वास्थ्य सरकारबाट प्राप्त अधिकार स्वास्थ्य र शिक्षा त सरकारबाट अनिवार्य सरकारले दिनुपर्ने सुविधा हो । कोही मानिसले आफ्नो व्यापार व्यवसायका लागि स्वास्थ्य शिविर चलाउदा खुशी हुने एउटा भ्रम या नबुझेको हो की । हाम्रै घरभित्र पनि मेरो ममीहरु दंग पर्नुहुन्छ । तर, एउटा मापदण्डा अनुसार त्यो उसको गोजीबाट चलाएको हुँदैन ।त्यो व्यवसाय पनि हो र आँखामा छारो हान्नलाई गरिरहेको छ । कहिलेसम्म राजनीतिको आडमा मान्छेलाई धोका दिने ? जहिले पनि नेताहरु जनतको काँधमा चढेर उनीहरु महलमा बस्ने ? शिक्षाको क्षेत्रमा हुने विकृतिको अन्त्य, रोजगरी व्यवस्थाका लागि म पनि मेरो विक्लप हो । यो क्षेत्रको परिवर्तनका लागि पनि मैले मत पाउछु भन्ने हो ।

७. अन्त्यमा चलचित्रमा देखाइने राजनीतिक परिवेश र वास्तविकतामा के फरक पाउनुभयो ?
केही पनि फरक छैन । मैले लेख्ने, निर्माण गरिएका सबै चलचित्रका कथाहरु बास्तविक समाजको ऐनालाई चित्रण गरेर बनाएको हो । हाम्रो समाजमा पनि एउटा नायक हुन्छ जो समाजमा जहिल्यै दविएर बसेको हुन्छ । भिलने चरित्र गरेकाले दबाएर राखेको हुन्छ । त्यो भिलन चरित्र भएको को हो भने परम्परागत राजनीति गर्ने व्यक्तित्वहरुले समाजलाई दास बनाएर राखेको हुन्छ । अन्त्यमा उसको विरुद्धमा कोही आउछ । भर्खरै सकिएको स्थानीय निर्वाचनलाई हेरौँ न त्यो चलचित्र भन्दा कम थियो र ? त्यसैले पनि चलचित्र र रियल लाइफमा मैले केही फरक देखिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्