बैंक ब्याजले हैरानीमा छौं, महासंघले पहल लिनुपर्छ : पूर्वका उद्योगी

बैंक ब्याजले हैरानीमा छौं, महासंघले पहल लिनुपर्छ : पूर्वका उद्योगी

विराटनगर । पूर्वका उद्योगीहरुले बैंकको ब्याजले व्यवसाय गर्नै नसक्ने अवस्था आएकोले नेपाल उद्योग वाणिज्य महासंघले उचित पहल लिनुपर्ने सुझाव दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ ले बिहीबार विराटनगरमा आयोजना गरेको बैंक ब्याज बृद्धि सम्बन्धी अन्तरक्रियामा सहभागी पूर्वका जिल्ला नगरका संघ पदाधिकारीले महासंघको मौनताप्रति आशंका व्यक्त गर्दै तत्काल पहलकदमी लिन सुझाव दिएका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले सरकार उद्योगी–व्यवसायी भन्दा बैंकर्ससँग नजिक सम्बन्ध राख्न चाहेको बताउनुभयो । उहाँले व्यवसायीले आन्दोलन गरेर माग पूरा गर्दा सरकार तल पर्ने जस्तो र आन्दोलन नगर्दा उद्योग–व्यापार नचल्ने परिस्थिति सिर्जना भएको बताउनुभयो । उहाँले सरकार र राष्ट्र बैंकलाई तत्काल ध्यानाकर्षण गराउनु पर्ने अवस्था आएको बताउनुभयो । यदि सच्याउने प्रयास नभए महासंघले देशव्यापी आन्दोलनको घोषणा गर्नुपर्नेमा उहाँको जोड थियो ।

नेउवा महासङ्घको प्रदेश १ का उपाध्यक्ष भीम पौडेलले बैङ्कर्स सङ्घले गरेका हरेक निर्णयलाई राष्ट्र बैंकले कार्यन्वयन गर्दा समस्या थपिएको बताउनुभयो । बैंकर्स सङ्घ र राष्ट्र बैंक साझेदार जस्तो हुँदा अहिलेको समस्या उत्पन्न भएको आरोप पौडेलको छ । महासङ्घका केन्द्रीय सदस्य डा. अविनाश बोहराले नेपालको राजस्व संरचना, श्रमिकको ज्याला र ब्याजदरले विदेशी लगानीकर्तालाई आकर्षित गर्ने मान्यता तोडिएर परिस्थिति उल्टो हुँदै गएको बताउनुभयो । उद्योगी बोहराले बैंकले सिआरआर र सीडी रेसियोलाई उचित व्यवस्थापन नगर्दा स्थितिमा फेरबदल आईरहेको दावी गर्नुभयो ।

महासङ्घका प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले महासङ्घले सबै जिल्लानगर उद्योगवाणिज्य सङ्घका भावना समेटेर तत्काल दबाबमूलक कार्यक्रम बनाउने आश्वासन दिनुभयो । उहाँले निर्वाचनको माहौल भएका कारण उद्योगी–व्यवसायीका माग उठान गर्दै गरेर निर्वाचनपछि बन्ने सरकारका लागि आधार तयार पार्ने बताउनुभयो ।

उदयपुर जिल्ला उद्योगवाणिज्य सङ्घका उपाध्यक्ष मुना कटुवालले साना तथा मझौला व्यवसायीलाई वाणिज्य बैंकले २ वर्षअघि ६ प्रतिशतमा लिएको ऋणको ब्याजलाई वृद्धि गर्दै गत असोज मसान्तदेखि १६ प्रतिशतमा पु¥याएको बताउनुभयो । व्यवसाय गर्नसक्ने अवस्था नरहेको बताउँदै कटुवालले देशव्यापी देखिएको समस्याको समाधानका लागि महासंघले पहल लिनुपर्नेमा जोड दिनुभयो ।

मोरङको सुन्दरहरैँचा उवा सङ्घका अध्यक्ष कृष्ण रिजालले महासङ्घ मौन बस्नु अचम्मको स्थिति भएको बताउँदै तत्काल आन्दोलनमा जानुपर्ने सुझाव दिनुभयो । राष्ट्र बैंकका गभर्नर र सरकारबीच तालमेल नहुँदा समस्या उत्पन्न भएको बताउँदै उद्योगी–व्यवसायीले राज्यको संरचनाबीचको खटपट औद्योगिक क्षेत्रमा देखिएको आरोप लगाएका छन् ।

झापाको दमक उद्योगवाणिज्य सङ्घका मोहन ढकालले बैंकले देशका केही ठुला औद्योगिक घरानालाई बेस रेटमा शून्य दशमलव २५ देखि शून्य दशमलव ५ प्रतिशत मात्र ब्याज लिने गरेको तर साना र मझौला व्यवसायीलाई बेस रेटमा ७ प्रतिशत थपेर लिइरहेको भन्दै एकरुपताका लागि आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्