धरान । तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । तीन दिनका अवधिमा धरानमा दुई करोड मूल्य बराबर फूलको कारोबार भएको छ ।
सोमबार, मङ्गलबार र आज कृिष उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ ।
यही सयपत्री फूलले दिदीबहिनीले दाजु भाइलाई पूज्ने गरिन्छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सयपत्री फूल गत वर्षभन्दा महँगो भएकोले भारतबाट आएको फूलको माला छिट्टै धेरै सङ्ख्यामा बिक्री भएको छ । लक्ष्मी पूजाको दिन मात्र एक करोडको कारोबार भएको थियो ।
पन्ध्र दिन अघि नै भारतको कोलकत्ताबाट रु दुई लाख तयारी माला ल्याइएका थिए । नेपाली पूmलका करिब दुई लाख नै माला बिक्री भएको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । भारतीय डेढ लाख माला रु ५० को दरले बिक्री भएको छ भने नेपाली फूलको माला औसत एक सय रुपैया परेको उहाँले बताउनुभयो । भारतीय फूलका माला सस्तो भएका कारण नेपाली फूल व्यवसायीलाई असर परेको फूल व्यवसायी भक्त राईले बताउनुभयो ।
“यसपाली स्थानीय उत्पादन कम भयो त्यही भएर भारतीय फूलको कारोबार बढ्न गयो । तर गत वर्षको तुलनामा मूल्य वृद्धिसँगै कारोबार पनि बढेको छ ।” व्यवस्थापक भट्टराईले भन्नुभयो । उहाँका अनुसार गतवर्ष एक करोड १५ लाखको फूलको कारोबार भएको थियो । भारतीय फूल न्यून आएको थियो । तर यस पटक फूलको कारोबार पनि बढेको छ ।
भारतबाट पनि धेरै फूल भित्रिएको उहाँको भनाइ छ । आज साँझसम्म बजारमा फूलको कारोबार हुँदा बिक्री सङ्ख्या अझै बढ्ने उहाँले बताउनुभयो । रासस
फोटो:फाइल