विराटनगर । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा कार्तिक १९ गते श्री जनता माध्यामिक विद्यालय विराटनगर-४ स्थित अमाही इकाहीमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ ।
मिति २०७९ कार्तिक १६ गते विराटनगर वडा नं. ६ मा भएको आँखा शिविरमा एक सय ४२ जना विरामीहरुको आँखा जाँच गरिएकोमा जस मध्ये २१ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको थियो ।
विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने महानगरको योजना अनुसार विराटनगर ४ मा शिविर आयोजना गरिएको छ । रामलाल गोल्छा आँखा अस्पताल सँग को सहकार्यमा महानगरले सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने योजना अघि सारेको छ । सोही योजना अन्तर्गत वडा नम्बर ४ मा बिहान ९.३० बजे देखी दिउँसो २ बजे सम्म निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्न लागिएको विराटनगरका मेयर नागेश कोईरालाले बताउनुभयो । उहाँले अन्य वडामा पनि क्रमैसँग शिविर सञ्चालन गर्ने जानकारी दिनु भयो ।
उहाँले सचेतना जगाउन सकिए मोतिविन्दुबाट बच्न सकिने उल्लेख गर्नु भयो । मेयर कोईरालाले आँखामा समस्या आए पनि अस्पताल नजाने प्रवृत्ति रहेको बताउनु भयो । उहाँले आगामी दिनमा रामलाल गाल्छा अस्पताल मात्रै नभएर अन्य अस्पताल सित पनि सहकार्य गरेर सबै किसिमका स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो
रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका महासचिव सुरेन्द्र गोल्छाले महानगर सित सहकार्य गर्नु पाएकोमा खुशी व्यक्त गर्नु भयो । अस्पतालका प्रशासन प्रमुख बिन्देश्वर महतोले सचेतना जगाउन सके आँखा रोगबाट बच्न सकिने बताउनु भयो । उहाँले महानगर ४ हजार व्यक्तिको आँखा जाँच गर्ने लक्ष्य रहेको सुनाउनु भयो । उहाँका अनुसार ४ सयको निःशुल्क शल्यक्रिया सहित चश्मा, औषधि, लेन्स समेत प्रदान गरिनेछ । चश्मा, औषधि लगायत तेज कोहली रुइत फाउण्डेशनको सहयोग रहनेछ महानगरका १९ वडामा ३८ वटा शिविर सञ्चालन गर्ने योजना रहेको छ ।