प्रदेश सुरक्षा गोष्ठीमा निर्वाचन केन्द्रित छलफल

प्रदेश सुरक्षा गोष्ठीमा निर्वाचन केन्द्रित छलफल

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आशन्न निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावारणमा सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय सक्षम र सवल हुने बताउनुभएको छ ।

गृहमन्त्रालय र प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयाजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०७९ को उद्घाटनमा मन्त्री कार्कीले प्रदेश सरकारले निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यकपर्ने साधनस्रोत उपलब्ध गराउन निर्देशन दिएको बताउनुभयो ।

मन्त्री कार्कीले निर्वाचनका बेला सूचना सङ्कलन, संवाद, निर्णय र कार्यान्वयन महत्वपूर्ण रहने भन्दै यसको अधिकतम प्रयोग गरेर भयरहित वातावरण एवं सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आग्रह गर्नुभयो ।

उहाँले निर्वाचन जनप्रतिनिधि छान्ने विधि र प्रक्रिया भएको हो भन्दै शान्तिसुरक्षामा कुनै किसिमको सम्झौता नगरी द्वन्द्व व्यवस्थापनमा राजनीतिक वृत्तमा संवादसहितको समाधान खोजेमा बल प्रयोगबाट जोगिने धारणा राख्नुभयो ।
गहमन्त्रालयका प्रवक्ता तथा सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलले निर्वाचनमा जिल्लाका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखको सुरक्षाका सम्बन्धमा एउटै आवाज हुनुपर्नेमा जोड दिनुभयो ।
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी जम्मा दुई लाख ९८ हजार पाँच सय ७९ खट्ने उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय सचिव उमेश बस्नेतले निर्वाचनमा मतदातालाई सुरक्षाको अनुभूति दिलाउन सुरक्षा निकायको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।

गोष्ठीमा सुरक्षा व्यवस्थापनका चुनौती, धेरै उम्मेदवार हुँदा उनीहरुको सुरक्षा व्यवस्थापनमा जटिलता, सीमित जनशक्ति र अपर्याप्त स्रोतसाधनको परिचालनमा कठिनाइ, ढुवानी रकमको अपर्याप्तता कारण अन्य निकायको समन्वयमा साधनको व्यवस्थानमा कठिन, मतदान अधिकृतलगायत जनशक्ति खटाउन प्रायः न्याय सेवा का कर्मचारी मात्र संलग्न हुँदा सुरक्षा संवेदनशीलता र कर्मचारीको दक्षता र समन्वय सीपबीच तादाम्यता मिलाउने समस्या, भौगोलिकरुपमा ठूला र विकट पालिकामा योजनाबमोजिम मोबाइल टोलीले सबै मतदानस्थल र मतदातको सुरक्षा कायम गर्ने विषयमा छलफल गरिने जनाइएको छ ।

यसैगरी निर्वाचन आचारसंहिता पालना, सुरक्षाकर्मीको आवश्यकपर्ने हातहतियार, सञ्चार साधन, सवारीसाधन अपर्याप्तता, अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लामा अवैध हातहतियार तथा विष्फोटक पदार्थ ओसारपसार तथा सीमामा हुने घुसपैठ, निर्वाचन विरोधी क्रियाकलाप गर्ने राजनीतिक दल तथा भूमिगत सशस्त्र तथा साम्प्रदायिक समूहको गतिविधि, निर्वाचनका समयमा निर्वाचन विरोध समूह र आर्थिक लाभका लागि सिर्जना भएका समूह, अन्तरपार्टी अस्वस्थ प्रतिस्पर्धाका कारण सिर्जित मुठभेड तथा झडपको अवस्थालगायतका विषयमा छलफल भई निष्कर्ष निकालिने जनाइएको छ ।

गोष्ठीमा निर्वाचन आचारसंहिता पालना गराउनमा प्रमुख जिल्ला अधिकारीको भूमिका र निर्वाचन सुरक्षा व्यवस्थापनमा भएका सवल पक्षका विषयमा छलफल हुने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । गोष्ठीमा प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका सम्बन्धमा आफ्नो जिल्लाको वस्तुस्थितिबारे प्रस्तुति दिनु हुनेछ ।

गोष्ठीमा गृहमन्त्रालयका सचिव विनोदप्रकाश सिंह, प्रदेशका निमित्त प्रमुख सचिव किशोरकुमार चौधरी, नेपाली सेनाका बलाधिकृत विभागका रथी सरोज प्रताप राणा, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका पूर्वी पृतनापति उपरथी सहदेव खड्का, गृह मन्त्रालयका सचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीपकुमार कोइराला र प्रदेशका चार सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्