हजारौं मध्येको पहिलो च्याप्टर ।

<span class='c1'>हजारौं मध्येको पहिलो</span> <span class='c2'>च्याप्टर ।</span>

- निदेश आचार्य
मेरो आँखा खुल्दा म मुढा जसरि भुइँमा पसारिरहेको थिए । चिसो भुइँलाई चुमिरहेको देब्रे गालामा माटो महसुस गरे मैले । मेरो कोठामा माटो ? मैले उठ्ने प्रयास गरें । टाउको टन टन दुखिरहेको छ, फुट्ला जस्तो । हात बाँधिएको सेतो डोरीले, खुट्टा पनी । त्यो दुधजस्तो सेतो डोरी आकाशको पृष्ठभूमिमा तारा चम्किरहेको जस्तो ।

मैले टाउको अलिकति उठाएँ । चिसो सितको गन्ध वातावरणमा उड्दै मेरो नाकको प्वालबाट सुस्तरी प्रस्थान गर्दैछ । मेरो वरिपरी ठुला ठुला रुखहरु, जंगलमा जस्तो । मेरो खाटलाई एउटा ठुलो रुखले आफ्नो पात ओढाएको छ । बुक सेल्फबाटलहराहरुउम्रेर उछिट्टीरहेका छन् । मेरो कम्प्युटर डेस्कमा च्याउ पलाइरहेको छ । अनि दुइ चारवोटा ढुङ्गाहरु मेरो कोठामा आराम गरिरहेका । मेरा कोठामा जङ्गल ? मेरो कोठा, जङ्गल ? जङ्गलमा, मेरो कोठा ?
पातहरुबाट तप तप झर्दै पानीका थोपाहरुले, मेरो कोठाको भुइँलाई विस्थापित गरेको माटोलाई, रुझाइरहेका छन् ।

मलाई कसैले केही चपाईरहेको गर्याम गर्याम आवाजले उठाएको थियो । त्यो आवाजलाई कसैले स्पिकरमा बजाएको जस्तो । म उठेर बस्न खोजें, सकिन । मेरो टाउकोबाट रगत रसाएर आँखीभौलाई छुदै आँखाको कुनाबाट सतहमा हामफालिरहेको छ । मेरो टाउको साँच्चिकै फुटेको रैछ ।
मैले आफ्नो कोठाको वातावरणलाई बुझ्न नपाउंदै एउटा रुखलाई भुइँबाट जरा सहित उध्रेको देंखे । अनि त्यसपछि चपाएको आवाज, त्यहिआवाज जसले मलाई उठाएको थियो । गर्र्याम गर्र्याम । रुखहरुको छायाँलाई चिर्दै एउटा ठुलो जीव मेरा विस्फारित आँखामा अँटायो । अक्टोपसको जस्तो सात आठ वोटा हात भएको रातो मुखमात्र हावामा उडिरहेको एउटा जीव देखें । त्यसले अघि उधारेको रुख, मुखभित्र छिराएर चपाउँदै छ ।
मेरो हात काँप्न थाल्यो । शरीर वेचैन भएर मुटु जोड जोडले आवाज निकाल्दै तीव्र गतिमा धड्किन थाल्यो, हर एक चोटी धड्कदा एउटा धड्कन छोडेर धड्किरहेको जस्तो । टाउकोबाट निस्केकोपसिनामा रगत मिसिएर संगै आत्महत्या गर्न थाले कन्चटबाट ।

म स्वतः एक्कासि उठेर बसे । बाँधिएको हातले खुट्टाको डोरीलाई हत्तार हत्तार खोल्ने प्रयास गर्न थाले जति फुकाल्न खोज्छु त्यति बाँधिदै जान्छ डोरी डोरीले मेरो खुट्टालाई पैतालाबाट अलग पारिदिन्छ जस्तोम डोरी खोल्ने अथक प्रयास निरन्तर गरिरहेको छु ।
त्यो जीवले रुख चपाईसकेर मलाई हेर्दै आफ्नो जिब्रो निकाली ओठ वरिपरी लिप्दै छ । मुखबाट र्याल चुहाउदै गरेको त्यसको आँखा सिएफएल बल्ब जस्तो बलिरहेको छ । त्यसको मुस्कानको आकृति हेर्दा लाग्छ 'वाह बल्ल मासु खान पाईने भयो' भन्ने कुरा त्यसको मनमा चलिरहेको छ । त्यसले मेरो आँखामा हेर्दै अर्को रुखलाई उधारेर खायो ।
मैले खुट्टाको डोरीलाई छोडेर हातको डोरीलाई खोल्न खोज्न थाले । त्यसले विस्तारै आकाशलाई च्यातेर खान थाल्यो । क्षितिजलाई च्यातेर खान थाल्यो । मेरो वास्तविकतालाई च्यातेर खान थाल्यो । मैले आफ्नो वरिपरी देखेको, थाहा पाएको वास्तविकताको fabricलाई कागज च्यातेझैँ च्यातेर खान थाल्यो । प्रोजेक्टरबाट हेरिरहेको पर्दालाई बीचबाट च्यात्दा जसरि च्यात्तिएको भाग कालो देखिन्छ, शुन्य देखिन्छ, त्यस्तै त्यो मेरो वास्तविकता आधा कालो देखिन थाल्यो । मानौं त्यसले मेरो आधा वास्तविकतालाई शुन्य बनाईदियो ।
त्यो वातावरणलाई खाँदै मेरो नजिक आउंदै छ । मेरो अन्तिम क्षण आयो भन्ने कुरालाई मैले आत्मसाथ गर्न सकिन । त्यसले आफ्नो मुख मेरो नजिक ल्यायो अनि मेरो आँखामा आँखा गाडेर हेर्न थाल्यो जस्तो त्यसले मेरो नयनबाट मेरो व्यक्तित्व नियाली रहेको छ । मेरो मस्तिष्कमा चलिरहेको सम्पूर्ण कुरा हेरिरहेको छ । चलचित्र जस्तो । मेरो भय देखिरहेको छ । भावना देखिरहेको छ । मैले महसुस गरको एब्सट्रयाक्ट कुरालाई हेरिरहेको छ ।
त्यसको मुख जन्मेदेखि ब्रस नगरेको जस्तो गन्हाउन थाल्यो । उफ्... कम्तिमा खानु अगाडी ब्रस त गरेको भए हुन्थ्यो । त्यसको सासले नै म बेहोस हुन्छु कि जस्तो लाग्न थाल्यो ।
मैले सुटुक्क छेउबाट ढुङ्गा उठाए र सक्ने जति बलले त्यको आँखामा हाने । त्यसले आफ्नो मुख तान्यो र पिडाले हल्लाउन थाल्यो । अलि अलि रगत निस्केको देखें । खैर, यो प्रहारले त्यसलाई घाइते बनाउन नसके पनि त्यसको गन्हाउने सास त झेल्नु परेन मैले । म घिस्रिएर पछाडी सर्न थाले । त्यसले टाउको झट्कार्यो अनि रातो आँखाले मलाई हेर्यो । जोडले गर्जियो अनि एउटा हातले मलाई हमला गर्यो । अब केहि सेकेन्ड हो मेरो जिन्दगी, सायद । मैले आँखा चिम्लिए ।

मेरो दाहिने तिर हावाको सुसेली चल्यो, हुण्डरीले निकाल्ने आवाज जस्तो ।त्यसपछि कसैले केहि कुरालाई हानेको जस्तो आवाज । आँखा खोले मैले मेरो अगाडी एउटा मान्छे देखे । ह्याटले छोपेको सेतो लामो कपाल उसको ह्याटबाट निस्किएर कुमलाई छोएको । उसले ओभरकोट र पाइन्ट लगाएको, दुवै सेतो hard paperले सिलाइएको। उसको लुगाको बुट्टा पत्रिकाको कटिंग जस्तो, केहि लेखिएको, केहि किताबमा छापिएको पानाहरुको जस्तो । त्यो जीवले उसलाई आफ्नो अर्को हातले फेरी हमला गर्र्यो । हावालाई चिर्दै, निकै तेज गतिमा, ठुलो आवाज निकाल्दै त्यो जीवले आफ्नोहातले उसको दाहिने गाला तिर आक्रमण गर्र्यो । उसले आफ्नो दाहिने हात उठाएर त्यसलाई ब्लक गर्यो । अर्को हात उसको पेटमा हानिन आयो । त्यसलाई मुक्का हान्यो र भुइँमा पछ्छारीदियो । त्यो जीवको निधारसम्म उफ्रियो उ अनि आफ्नो दाहिने हातलाई मुट्ठी बनाएर एक मुक्का त्यसको निधारमा हान्यो । उसको एक मुक्काले त्यो जीवलाई निस्क्रिय पारिदियो । ठुलो ड्याम्म आवाज निकाल्दै त्यो जीव भुईंमा बजारियो ।
म तिर फर्कियो ऊ –"तिमीले त्यो हातको डोरी किन नखोलेको ? मैले दिएको हतियार प्रयोग किन नगरेको ?"
म अचम्म परें –"यो डोरी खुल्दै खुल्दैन त, म के गर्नु ?"
उसले भन्यो –" अरे बाफरे..... हरेक चोटी तिमीलाई मैले भन्नु पर्ने ? यो डोरी तिम्रो भ्रम हो । तिमी यसलाई खोल्न सक्छौ क्या मित्र ।"
उ मुस्कुरायो । उसको मुस्कान अद्भुत, इश्वरीय, आनन्दयुक्त छ । उसको स्वर एकदमै मधुर । उसले बोल्दा कुनै गीत गाए जस्तो सुनिन्छ । मैले डोरी तिर हेरे । कसरि खोल्न सक्छु ? अघि यति धेरै प्रयास गर्दा पनि खुलेन त ।
उसले थुचुक्क बसेर मेरो हातको डोरी समायो । मलाई आँखा बन्द गर्न भन्यो । मेरो हात हलुका भयो । आँखा खोलेर हेर्दा डोरी आफै खुल्दै भुइँमा झरेको देखे ।
"ल अब यो खुट्टाको खोल" उ उठेर मेरो खुट्टा तिर हेर्यो ।
डोरी सजिलै खुल्दो रहेछ त । मैले खुट्टाको डोरीलाई खोल्न गाँठो खोज्न थाले । गाँठो थिएन अनि हातले डोरीलाई छोए । त्यो डोरी मेरो खुट्टाबाट बेरिएको सर्प स्वतः खुलेझैं खुलेर भुइँमा झर्यो । दुइ वोटै डोरी भुइँमा झरे पश्चात स्विच अफ गरेको बल्ब जस्तै त्यो डोरीहरू निभ्यो ।
उसले मलाई तानेर उठायो –" ल चांडो हिंड । त्यो बेहोस मात्र भाको छ फेरी उठिहाल्छ । "
"तिमी को ?" मैले उसलाई सोधें –"त्यो को हो ? के हो ? म कहाँ छु ....."
"उफ... तिमी चुपचाप मसंग हिंड, तो उठ्यो भने फेरी बबाल हुन्छ । पहिला मसंग हिंड अनिबाँकी कुराहरु भन्छु म ।"
उसले मेरो हात समाएर मलाई आफूसंगै हिडायों । उसको हात एकदमै नरम । आँखा निला । कपाल सेता । कुनै सुपर हिरो जस्तो देखिन्थ्यो उ ।
हामी तिन चार पाइला मात्र हिंडेको थियौ, त्यो जीवको गर्जन सुन्यौ । त्यो उठ्दा भुइँका पातहरु सोहोरेर उठ्यो । पातहरु भाँचिएको आवाज आयो । उसले मेरो हात छोडेर दौडिन भन्यो । दुई चार पाइला मात्र दौडिन पाएको थिए कि मैले आफुलाई भुइँबाट उचालिएको पाए । उसको टाउको सम्म मेरो शरिर हावामा उड्न थाल्यो । उसले मलाई ठुला ठुला नयनले हेर्यो अनि मैले उसलाई त्रसित नयनले । उसले मेरो खुट्टा समाएर तान्न थाल्यो । मेरो आँखाबाट आँसुका थोपाहरु चुहिन थाले । मेरो शरीर धनुष जस्तो बांगिन थाल्यो । पेट अगाडी उछिटियो, टाउको र खुट्टा पछाडी । उसको हातको ग्रीप छुट्यो मेरो खुट्टाबाट । मेरो शरीर झन् दुख्ने गरि बंगिन थाल्यो । उ त्यो जीव तिर गएको देखें मैले ।
मेरो घुच्चुक ब्लेडले काटिएको जस्तो महसुस भयो अनि त्यहाँबाट केहि निस्कियो । एकैछिनमा मेरो पुरै शरीर शिथिल भयो, बिरामीको जस्तो । कसैले पकडेर छोडे जस्तो म ड्याम्म भुइँमा पछारिए । अनि विस्तारै मेरो दृष्टि ब्लर हुँदै निभ्यो ।
मेरो होस खुल्दा थाहापाएहामी एउटा सानो गुफाभित्र रहेछौ । मलाई उसले आफ्नो ओभरकोट ओढाएर मेरो छेउमा बसिरहेको देखे । उ गुफाभित्र बसेर बाहिर हेर्दै छ । सायद त्यहि जीवलाई हेर्दै होला । मैले बोल्न खोज्दा मेरो मुखबाट आधा शब्द मात्र निस्कियो, आधा शब्द हैन आधा सास मात्र । उसले मेरो आवाज सुनेर मतिर फर्कियो । मेरो निधारमा उसले हात राख्यो –"ज्वरो टन्नै रैछ मित्र । "
मैले सकीनसकी एउटा वाक्य निकाले –"के भाको मलाई ? मलाई डर लागिराछ ।" मेरो आँसु स्वतः नयनबाट रसाउन थाल्यो । मलाई रोएको देखेरे उसले मेरो आँसु पुछ्दै मुस्कुरायो –"चिन्ता नगर, केहि भएको हैन । म छु नि तिमीलाई बचाउछु ।"
"त्यसले के गर..."
"त्यसले तिम्रो आत्मा लागेको हो । त्यो जीव, तिम्रो कट्टर शत्रु हो । म तिम्रो परम मित्र ।"
मेरो आत्मा लागेको ? "मेरो आत्मा लगेर पनि म कसरि जीवित छु ? के भैरहेको छ ?"
"धेरै प्रश्न छ तिमीसंग यार मित्र । तिम्रो आत्मा लगेको हो । चेतना हैन । तिम्रो जीवन तिम्रो चेतना हो । तिम्रो आत्मा तिम्रो शक्ति हो । तिम्रो जीवन चलाउने मेसिन । यो लेउ ।"
उसले मलाई एउटा सानो कलम जस्तो वस्तु दियो । सेतो भाँडोभित्र कालो रंगको तरल त्यसमा तैरिरहेको ।
"के हो यो ?" मैले सोधें ।
"यहि हो तिम्रो हतियार मैले तिमीलाई देको ।मेरो नाम साही हो । म तिम्रो मित्र हो । तिमीले मलाई चुनाव गरेको हो । तिमी र म कहिले छुट्टिन सक्दैनौ । म तिमीलाई सहयोग गर्न आएको हो । यहि मेरो धर्म हो । मेरो कर्तव्य र मेरो अस्तित्वको सार हो ।"
उसले मेरो घुच्चुकमा आफ्नो हात राख्यो अनि आँखा चिम्म गर्र्यो । केहि पसे जस्तो आभास भयो मलाई । मेरो शिथिल शरीरमा केहि बल आयो । केहि तागत ।
"यो मेरो आत्माको केहि अंश हो । तिमीले आफ्नो आत्मा त्यसबाट ल्याए पछी मेरो अंश आफै म निर आउने छ । तर यो अंश तिमीसंग हुन्जेल म केहि कमजोर हुनेछु ।"
"तिमीले मलाई तिम्रो आफ्नो आत्मा कसरी दियौ ? मलाई सबै बुझाउ मलाई" केहि तागत आए पछि म उठेर बसे –"तिमी को हौ ? तिमी मेरो मित्र हौ । तर म तिमीलाई चिन्दिन....."
"मित्र तिमी धेरै चिन्ता नगर । म तिम्रो परम मित्र हो यति बुझिराख । मुख्य कुरा सुन । त्यो जीवले तिमीलाई खान आउँछ । तिमीलाई मार्न आउँछ एउटा मात्र उपाय छ त्यसलाई मार्ने....."
उसको वाक्य पुरा नसकिदा नसकिदै हामी बसिरहेको गुफालाई त्यो जीवले जमिन बाट उधारीदियो अनि फ्याँकिदियो । त्यसले एउटा हातले हामीलाई हमला गर्र्यो । हामी दुवैले उफ्रेर त्यसलाई छल्यौ । फेरी त्यसले अर्को हातले हामीलाई हमला गर्र्यो ।उसले मुक्का हानेर हातलाई भुइँमा पछारिदियो ।
त्यो जीवको अनुहारमा प्रचण्ड रिसको छिटाहरु देखिन थाल्यो । हल्का रातोबाट गाढा रातोमा परिणत हुन थाल्यो त्यसको शरीर । त्यसले मबाट आफ्नो ध्यान हटाएर उ तिर केन्द्रित गर्र्यो । आफ्ना सबै हातहरुले उसलाई हमला गर्न थाल्यो ।
धेरै वारहरु उसले छल्यो । तर दुर्भाग्यवश उ चांडै नै कम्जोर हुन थालेको थियो । उसको आत्माको केहि अंश मसंग छ । मैले उसलाई अब बचाउने बेला आएको हो त ? म केहि गर्न सक्दिन होला । म कमजोर छु । उ जस्तो शक्ति मसंग छैन । तागत छैन । आँट छैन । म व्यर्थ हु । म मात्र हैन उ पनि मर्छ होला अब । उसको अंश उसलाई नै फिर्ता दिनु पर्छ मैले । तर मेरो आत्मा म कसरी खोसु त्यो जीवबाट ?
त्यो जीवले उसको भुँडीमा हमला गर्र्यो । उसले रगत खोक्यो । मेरो मुटु झन् आत्तियो । म डरले शालिक जस्तो उभिए, माटोले समाए जस्तो म त्यहाँबाट हल्लिन सकिन । उ भुइँमा लडेर पनि त्यो जीवको हमलाहरु रोकीरहेको छ, सहिरहेको छ ।
म आखिर कामै नलाग्ने रहेछु । सबैले ठिकै भन्थे सायद । म मर्नु नै ठिक रहेछ । ठिक छ मर्छु भने पनि म उसलाई बचाएर मर्छु । केहि न केहि राम्रै गरेर मर्छु म ।
मैले ढुङ्गा उठाएर त्यो जुवालाई हाने। त्यसलाई लाग्यो, सायद दुखेन । मैले त्यो जीवलाई क्षति पुर्याउन सकिन, मात्र ध्यान आकृष्ट गरे आफुतिर ।सहि पनि घाइते भइसकेको छ । ठिक छ म केहि समय यसलाई अल्झाईराख्छु । उसले अलिकति आराम पाउँछ । अनि मलाई त्यसले मारे पछी उसको आत्माको अंश उसंगै जान्छ । उ बाँच्छ ।
म साविकको स्थानबाट दौडिए । त्यो जीवले मलाई पछ्याउन थाल्यो । मैले त्यसलाई अझै रीस उठाउन त्यसलाई ढुङ्गाहरु प्रहार गर्न थालें । मैले कतिन्जेल चाहिं त्यसलाई अल्झाउन सक्थे र ? त्यसले मेरो खुट्टा समाएर मलाई उठायो । आफ्नो मुख तिर लाँदै छ खानलाई । मैले आँखा चिम्लिए । मुस्कुराए ।

त्यति नै बेला सहिले उठेर त्यो जीवलाई किक हान्यो, यो पालि आँखामा । त्यो चोटले छटपटाएर त्यसले मलाई हत्याईदियो । निकै रुष्ट भएर त्यो ठुलो स्वरमा गर्जियो । झनै ठुलो अजंगको हुन थाल्यो । बढ्दै बढ्दै,छेउ छाउका रुखहरु भाँच्दै त्यो आकाश ढाक्ने गरि नै ठुलो भयो । आफ्नो रिसलाई आगोमा परिणत गरेर ड्रागनले जस्तै मुखबाट आगो फ्याक्न थाल्यो । म उ निर हत्तारिंदै पुगे । उ भुइँमा लम्पसार छ । अलिकति पनि हलचल गर्छ जस्तो लाग्दैन ।
उसले मलाई कानमा भन्यो –"मित्र... तिमी नै मात्र..... यसलाई.... परास्त गर्न सक्छौ । त्यो हतियार प्रयोग गर ।"विचविचमा ठुलो ठुलो स्वरले स्वास फेर्दै छ उ । उसलाई गाह्रो भईरहेको मलाई महसुस भईरहेको छ ।
मैले उसको हात समाउदै भने –"म ? म केहि गर्न सक्दिन । म तिमीजस्तो शक्तिशाली छैन । बरु म मर्छु यसको हातबाट अनि तिम्रो आत्माको अंश तिमी भित्र फर्कन्छ अनि तिमी बाँचछौ ।"
"त्यस्तो..... गल्ती नगर..... तिमी मार्यौ भने म पनि.... मर्ने छु । तिमीसंग आत्माविश्वास छ । तिमीसंग तागत छ । मलाइ ... तिमीमा पूर्ण विश्वास छ..... मित्र । तिमीले मलाई बचाउन त्यो जीवलाई परास्त गर्नै पर्छ...... तिमी जाउ ..... यो युद्ध तिमीले जित्ने पर्छ । यो जीव मेरो हातबाट मर्न सक्दैन ।"
मैले केहि बुझिरहेको छैन । मैले केहि बुझिरहेको छैन । के हुँदै छ । उसले के भन्दै छ । उसले मलाई आफ्नो अंगालोमा हाल्यो अनि उसको शरीरले मलाई ओत दियो । उ मुस्कुराईरहेको छ । उसको ओठ मात्र हैन, उसको पुरा आस्तित्व नै मुस्कुराइरहेको छ । उसले मेरो मुहारमाथि रगत खोक्यो । उसका आँसु र रगत एकैसाथ मेरोमुहारमा परे । त्यो जीवले हमला गरेको रैछ । उसले पछाडी फर्केर त्यसलाई हेर्र्यो । आगोको डल्लो हामीतिर आईरहेको छ । उसले मलाई बचाउन आफ्नो आधा शरीर जलायो त्यो आगोको डल्ला आफुले लिएर । उसको छाला बल्न थाल्यो । कागजमा आगो लागेको जसरी उसको शरिरमा आगो लाग्न थाल्यो । मैले उसलाई भुइँमा सुताएर उभिए ।

आक्रोसले मसंग नभएको शक्ति पनि बोकेर आयो र ममा हालिदियो । एकदमै रिस उठेर मेरो पुरा शरीर काँप्न थाल्यो । उसले दिएको हतियारलाई जोडले समाते । त्यो हतियार पनि डोरी जसरी चम्कन थाल्यो । म उफ्रीए । स्काई स्क्रेपर जत्रो त्यो, त्यसको आँखा अगाडी पुगे । मैले, त्यो कलम जस्तो हतियारले त्यसको देब्रे आँखामा रोपिदिए । त्यसले एउटा हातलेमलाई हान्यो । भुइँतिर तेर्सिदै झर्न थाले । विरालोले भुइँमा ल्याण्ड गरेजस्तो मैले ल्याण्ड गरे । पुन: उफ्रेर त्यसको अर्को आँखामा हमला गरे । अनि त्यसको एउटा हातमा उफ्रेर त्यसको टाउको माथि पुगे । ओभरकोट हावामा उडिरहेको छ । जोडले चिच्याएर सक्दो तागतले त्यसको टाउकोमा हतियार रोपिदिए । विस्तारै त्यो धुलो भएर हराउन थाल्यो । उसले मलाई हेरेर मुस्कुरायो अनि थम्ब्स अप दियो ।
पूर्णविराम दिए । कलमको विर्को लगाए । कथा लेखिरहेको कपि बन्द गरे अनि कोठाको बत्ति बन्द गरेर सुते । आनन्द आयो ।आज छिटै सुत्नु छ । भोलि उठेर अफिस जानु छ अनि अर्को शैतानसंग लडाई गर्नु छ । अवसादको यो हजारौं मध्येको पहिलो च्याप्टर चाहिं सकियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्