निर्वाचन विशेष : मोरङ क्षेत्र ६ मा कोइराला र पण्डितको रोचक भिडन्त, प्रदेशमा केदारका बागीले पर्शुरामको बाजी संभावना

निर्वाचन विशेष : मोरङ क्षेत्र ६ मा कोइराला र पण्डितको रोचक भिडन्त, प्रदेशमा केदारका बागीले पर्शुरामको बाजी संभावना

सुजता लिम्बु
विराटनगर । मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन नजिक बन्दै जाँदा दलका उम्मेदवारहरु मतदाता भेट्न व्यस्त देखिएका छन् । निर्वाचन आउन १३ दिन मात्रै बाँकी छँदा मतदाताको अपेक्षा सुन्ने र दलहरुको घोषणापत्र बुझाउने काममा उमेदवारको दैनिकी सुरु भएको हो ।

मोरङका ६ निर्वाचन क्षेत्रमध्ये विराटनगरसँग जोडिएको क्षेत्र नम्बर ६ यस पटक सबैभन्दा चासोको रुपमा हेरिएको निर्वाचन क्षेत्रमा परेको छ । यस क्षेत्रमा १६ जनाको उमेदवारी छ । त्यस बाहेक २०७४ का दुई प्रतिस्प्रर्धी यस पटक पनि मैदानमा छन् । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला र नेकपा एमालेबाट पूर्वमन्त्री लालबाबु पण्डित यस क्षेत्रमा उमेदवार हुनुहुन्छ । मतदातादेखि आम विराटनगरवासीको चासोमा परेको क्षेत्र नम्बर ६ मा २०७४ मा डाक्टर कोइराला ६ सय मनान्तरले पण्डितसँग पराजित हुनु भएको थियो ।
राजनीतिक दलहरुको चुनावी तालमेल र गठबन्धनले फेरिएको अवस्थामा माओवादी केन्द्र, एकिकृत समाजवादी र नेपाली काँग्रेसले डाक्टर शेखरको चुनावी प्रचार गरिरहेका छन् । अघिल्लो पटक बाम गठबन्धनबाट निर्वाचित पण्डितको प्रचारमा एमाले पार्टी र जनता समाजवादीका नेताहरु क्रियाशिल छन् । पाँचवर्ष अगाडी र अहिलेका चुनावी एजेण्डा भने क्षेत्र नम्बर ६ मा उस्तै छन् । विकास निर्माण, सकुम्वासी समस्या समाधान, नागरिकताको विषय अहिले पनि मतदाताका माग रहेका छन् ।

फेरिएको समिकरणले डाक्टर शेखरलाई सहज, पण्डितको आत्माविश्वास उस्तै
मोरङ क्षेत्र नम्बर ६ को चुनावी मैदानमा प्रतिस्पर्धी पुरानै भएपनि फरिएको राजनीतिक समिकरणले डाक्टर कोइरालालाई सहज देखिएको छ । २०७४ मा पण्डितले बाम गठबन्धनको अर्को घटक माओवादी केन्द्रको समर्थनमा विजयी हाँसिल गर्नु भएको थियो । यो निर्वाचनमा कोइरालाले माओवादी केन्द्र र एमालेबाट छुटिएर गएको नेकपा एकिकृत समाजवादीको आडमा मैदानमा हुनुहुन्छ । तत्तकालिन निर्वाचनमा बाम गठबन्धनको साथमा ३३ हजार ९४१ मत प्राप्त गरेर विजयी पण्डितलाई यो पटक जसपाको साथ रहेपनि उत्साह भने कम देखिएको छ ।
एक्लै चुनावी मैदानमा हुँदा कोइरालाले २०७४ मा ३३ हजार २६६ मत प्राप्त गर्नु भएको थियो । त्यो आधारले पनि कोइरालालाई निर्वाचित उमेदवारको रुपमा हेरिएको छ । तर, २०७४ को झैं आफ्नो जीत सुनिश्चित रहेको एमालेका नेता पण्डितको विश्वास भने कम छैन । स्थानीय निर्वाचनको मत परिणमले पनि सत्ता गठबन्धनका उमेदवार कोइरालाले जीत सुनिश्चित उन्मुख रहनु भएका नेकपा एसका युवा नेता वसिम आलमको तर्कछ ।

नागरिकका समस्या उस्तै
निर्वाचन आएपछि मत माग्न आउने दलका नेताहरुको तामझाम उस्तै छ । तर, मत दिने मतदाताहरुको अवस्था भने त्यहि । विराटनगर ४ खारजी कोहबराका सुकुमबासी समस्या अघिल्लो निर्वाचन कै झैं यथावत छ । स्थानीय हिरालाला ऋषिदेवले पाँचवर्ष अगाडी जिताएर पठाएकाहरुले पनि केहि नगरेको गुनासो गर्नुभयो । यता विराटनगर ११ की बन्दना साह कोभिड महामारी हुँदा जितेर जाने प्रतिनिधि जनता कुन अवस्थामा छ भनेर सोध्न समेत नआएको गुनासो गर्नुहुन्छ । निर्वाचनको बेला भुँईमा थचक्कै बस्न सक्ने नेताहरुले निर्वाचित भएपछि उभिएर समेत हेर्न नसक्ने उहाँको बुझाई छ ।

प्रदेशमा केदार भर्सेस पर्शुराम
मोरङ क्षेत्र नम्बर ६ (ख) प्रदेशसभाबाट काँग्रेसका उम्मेदवार प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले २०७४ मा एमाले उम्मेदवार रमेश पोखरेललाई हराउँदै सहजै विजयी हुनु भएको थियो । यो निर्वाचनमा कार्कीलाई भने सहज देखिएको छैन । आफ्नै दुईजना बागीले प्रतिप्रस्र्धी एमालेका पर्शुराम बस्नेतले बाजी मार्ने अड्कल गर्न थालिएको छ । कार्कीका विरुद्ध काँग्रेसका प्रदेश सदस्यद्वय गोपालप्रसाद रेग्मी र जनार्दन निरौला उमेदवार हुनुहुन्छ । विराटनगर महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत रेग्मी विराटनगरमा राम्रो छवी भएका व्यक्तिमा चिनिनुहुन्छ । अर्का निरौलाको छवी समेत स्वच्छ मानिन्छ । पार्टीले टिकट नदिएपछि रेग्मी र निरौला स्वतन्त्र हैसियतमा निर्वाचनको मैदानमा हुनुहुन्छ । जसको प्रभाव कार्कीलाई पर्नसक्ने संभावनाले एमालेका बस्नेतको बाजीलाई सहज बनाउने संभावना देखिएको हो ।

प्रदेश ६ (क)मा आचार्य र न्यौपाने
क्षेत्र नम्बर ६ (क) प्रदेशसभा सदस्यका लागि पनि उस्तै चर्चा देखिएको छ । यस क्षेत्रमा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका जीवन आचार्य र नेकपा एमालेबाट रिता न्यौपानेको उमेदवारी छ । दुवै स्थानीय राजनीतिमा प्रभावि देखिएका युवा नेताहरुले चुनावमा आफ्ना एजेण्डासहित घरदैलो गरिरहनु भएको छ । निर्वाचित भए आचार्यले विकासका योजना ल्याउन सक्ने प्रचार धेरै छ । न्यौपाने २०७४ को स्थानीय तह निर्वाचनमा बुढीगंगा गाउँपालिकाको उपाध्यक्षमा पराजित भएका कारण उहाँलाई सहानुभूति मिल्नसक्ने आंकलन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्