विराटनगर–४ को ऋषिदेव वस्ती : भोटका लागि परिचयपत्र, नागरिक बन्ने छैन नागरिकता

विराटनगर–४ को ऋषिदेव वस्ती : भोटका लागि परिचयपत्र, नागरिक बन्ने छैन नागरिकता

सुजता लिम्बु
विराटनगर । उमेरले ८० वर्ष टेक्दैछ । मालोदेवी ऋषिदेवको अनुहारमा बुढ्यौली झल्किने थुप्रै संकेत देखिन्छन् । उनीसँग नेपाली नागरिकता छैन । विराटनगर–४ खारजी कोहबराको सुकुमबासी बस्तीमा बसोबास गर्दै आएकी मालोदेवीका श्रीमान् र छोराहरु भने नेपाली नागरिकता प्राप्त नागरिक हुन् ।

ठ्याक्कै वर्ष यति नै भनेर भन्न नसक्ने उनलाई नागरिकता भएको भए यो ज्येष्ठ जीवनमा सरकारले दिने भक्ता सहारा बन्ने थियो । उनी त्यसबाट बन्चित छिन् । ज्येष्ठ नागरिक भईसकेकी मालोदेवी सामाजिक सुरक्षा भक्ता लिनेहरुलाई सम्झेर आफुलाई अभागी ठान्छिन् ।
‘बृद्धभत्ता पाउने उमेर पनि भयो तर, नागरिकता छैन,’ उनले भनिन्–नेपाली नागरिक नभई आफ्नो जीवन सकिने भयो । नागरिकता बिना नै विगतका दिनहरुमा धेरै पटक उनले भोट खसालेकी थिइन् । उनलाई भोट कसरी लगाउने भन्ने अनुभव छ । तर, अहिले नागरिकता बिना मतदाता हुन नपाउने भएपछि उनी त्यहाँबाट पनि बन्चित भईन् ।

‘पहिले सानो चिट जस्तो दिन्थ्यो, त्यसको आधारमा भोट हाल्न पाइन्थ्यो,’ उनले भनिन््, ‘नागरिकता अनिवार्य गरेपछि भोट खसाल्ने छैन । उनीजस्तै धेरैको नागरिकताको समस्या ऋषिदेव टोलमा छ । ६० घर परिवार बसेको टोलमा ५० जनाभन्दा बढीसँग मतदाता परिचयपत्र रहेको छ । तर, नागरिकताबिहीनको संख्या उतिनै ।
नागरिकता बनाइदिने भनेर नेताहरु भोट माग्ने गर्दछन् । तर, चुनावको आश्वासनले कहिले सार्थकता पाएको छैन । जति भोट दिएपनि नागरिकता छैन, दुखनीदेवी ऋषिदेवले भनिन्–'भोटका लागि चिट दिए तर नागरिक बन्ने नागरिकता छैन ।' उनले पनि पुरानो चिट परम्परामा भोट खसालेकी थिइन् । तर, नागरिकता अनिवार्य भएपछि उनी मतदान गर्ने अधिकारबाट बन्चित छिन् ।

मोरङ क्षेत्र नम्बर ६ बाट काँग्रेसका नेता डाक्टर शेखर कोइराला र एमालेका नेता लालबाबु पण्डित उमेदवार छन् । उनीहरु दुवैले यस पटकको चुनावी अभियानमा समेत नागरिकताको विषय मतदाता रिझाउने आश्वासनका लागि प्रयोग गरिरहेका छन् । तर, एका घरभित्र कोहि नेपाली नागरिक र कोही नागरिकताविहीन हुँदा राज्यको अवसरबाट बन्चित नागरिक भएको विषयलाई कहिल्यै गम्भीर रुपमा लिएका छैनन् ।
२०७४ को निर्वाचनमा लालबाबु पण्डित निर्वाचित भएका थिए । उनी निर्वाचित भएपछि अहिलेसम्म ऋषिदेव टोलका समस्या बुझ्न फर्केका छैनन् । यो निर्वाचनको प्रचारका लागि पुनः आउनेमा ऋषिदेव टोल ढुक्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्