नबिथोलौं सामाजिक भावना

नबिथोलौं सामाजिक भावना

नजिकीएको छ निर्वाचन । आगामी मंसिर ४ गतेको समय सीमामा नेपाली नागरिक, जो मतदाता छन् उनीहरुले मत दिएर पाँचवर्षका लागि जनप्रतिनिधि चुन्नेछन् । त्यसका लागि विचार र आस्थाका आधारमा संगठित भएका राजनीतिक दलका नेताहरु उमेदवार बनेर चुनावी प्रतिस्प्रर्धामा छन् । लोकतन्त्रमा बहुदलिय प्रतिस्प्रर्धाबाट नेतृत्वमा चुनिन पाउने सुखद् अवसर भनेकै निर्वाचन भन्ने मान्यतालाई हाम्रो संविधानले स्थापित गरेको छ । त्यहि मान्यतामा हामी जनप्रतिनिधि चुन्ने मतदाता हौं ।

मतदाता हुनु र मतदान गर्ने अधिकार सुरक्षित गर्नु गौरवको विषय हो । नागरिकको हैसियतले मतदानको अधिकार प्रयोग गरेर जनप्रतिनिधि चुनिदाँ त्यसको परिणाम भोग्ने थुप्रै क्षेत्र हुन्छन् । त्यसको परिणाम दिने भनेका हामीले निर्वाचित गरेर पठाएका जनप्रतिनिधि हुन् । जो कुनै न कुनै रुपमा राज्य सञ्चालकको हैसियत प्राप्त गर्दछन् । उनीहरुले नागरिकका लागि योजना ल्याउने छन्, त्यसको सदुपयोग गर्ने अवसर नागरिकले पाउने छौं भन्ने आसा निर्वाचनको समयमा हुन्छ । त्यहि आसाले ओतप्रोत भएका हामी नेपाली मतदाता पनि विचार र आस्थाका आधारमा आफ्ना उमेदवारलाई छान्न पाउने आफ्नै अधिकारको प्रयोग गर्दछौं ।

यो अधिकार लोकतन्त्रको सुन्दरतासँग जोडिएको हुन्छ । नागरिकले प्रयोग गर्ने अधिकारलाई त्यहिस्तरको सीमामा राख्नु जरुरी छ । विचार र आस्थामा आधारित भएर आफ्नै मात्रै राम्रा भन्ने मान्यतालाई नागरिकले विवेकपूर्ण ढंगले केलाउन जरुरी छ । राम्रोलाई राम्रो भन्ने र हाम्रोमा राम्रो नभएपनि राम्रै देखाउने शैली प्रलव बन्दा त्यसले सामाजिक भावनामा बिचलन पैदा गरिदिन्छ । त्यसको प्रभाव साँच्चै साँझ–बिहान सहयोग माग्ने छिमेकीसँग वा एकाघर भित्रैको सम्बन्धसँग पनि दुरी बढ्न जान्छ । दैनिक जीवनमा जरुरी पर्ने छिमेकीसँगको सम्बन्ध बिगारेर मतदानको सम्बन्धबाट स्थापित हुने नेताको बुई चढ्न खोज्नु आफ्नै लागि घातक हुनसक्छ ।किन यस्तो हुनसक्छ भन्ने कुरा आफैंले सोच्ने कुरा हुन् ।

अधिकार प्रयोग गर्न हामी जति उत्सुक हुन्छौं । आजसम्मका निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले त्यो उत्सुक्तालाई राज्यको तहबाट सम्बोधन गर्ने खास काम देखाउन सकेका छैनन् । अर्थात् निर्वाचित जनप्रतिनिधिले नागरिकको अपेक्षा अनुसारको काम गरेका छैनन् । निर्वाचनको बेला मतदाताले देखाएको उत्साहलाई व्यवहारमा परिणत गर्न नसक्ने नेता भन्दा साँझबिहान आवश्यक पर्दा सहयोग गर्ने छिमेकी मुख्य मान्नु नै श्रेयकर हुन्छ । हुन त लोकतन्त्रको जग बलियो बनाउने जिम्मेवारी नागरिकको पनि हो । तर, हाम्रो जस्तो विकासोन्मुख देशमा नागरिक पनि त्योस्तरमा विकास हुन सकेका छैनौं । त्यहि सम्झेका जनप्रतिनिधिले नागरिकको मतलाई सम्मान गर्न जानिरहेका छैनन् ।

त्यसैले निर्वाचनलाई नागरिकले मतदान गर्ने अधिकारको रुपमा मात्रै नभई लोकतन्त्र बलियो बनाउने आधारस्तम्भको रुपमा बुझेर राम्रो व्यक्तिहरुलाई रोज्नुपर्दछ । अर्को पक्ष भनेको निर्वाचन सकिएपछि फर्किएर सधैं सहयोग माग्ने छिमेकी र समाजलाई जोगाई राख्न सक्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्