विराटनगर । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी मोरङ्ग र सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीहरूको पहलमा नेपाल भारत दुई देश बीच सुरक्षा बैठक सम्पन्न भएको छ ।
एकीकृत जाँच चौकी ९आईसीपी० मा जोगवनी तर्फ बसेको निर्वाचन लक्षित सुरक्षा बैठकमा नेपाल र भारतको गरी मोरङ्ग, सुनसरी र भारतको अररिया जिल्लाको प्रमुख सुरक्षा अधिकारीहरु बिच सम्पन्न भएको हो ।
नेपाल भारत बीच खुला सिमाना रहेको नेपाल तर्फ सुनसरी, मोरङ्ग र भारत तर्फ अररिया जिल्ला भएको हुनाले अपराधिक गतिविधि रोक्न, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षाको दृष्टिकोणले दुई देश बीचका प्रशासनहरु बीच सहकार्य आवश्यक रहेकोले तथा दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन पनि सहकार्य आवश्यक रहेको हुनाले भारतीय सुरक्षाकर्मीले प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई गार्ड अफ अनर सलामी दिँदै भारतीय पक्षले बैठकमा स्वागत गरेका थिए । संयुक्त सुरक्षा समितिको बैठक कार्यक्रममा मुख्य एजेण्डाहरु दुई देश बीचको खुला सिमानामा संयुक्त गस्ती, मादक पदार्थ तथा लागुऔषध बेचबिखन तथा ओसापसारको कामलाई रोक्ने, ७२ घन्टा अगाडी दुई देश बीचको नाका सिल गर्ने तथा अति आवश्यक अवस्थामा भारत बाट नेपाल तथा नेपाल बाट भारत एम्बुलेन्स, बारुणयन्त्र लगाएतका सेवाहरुलाई कसरी सहजीकरण गर्ने विषयमा छलफल भएको थियो ।
नाकाबाट हातहतियार, खरखजाना, लागुऔषध, नक्कली नोटलगायत अन्य वस्तुको तस्करीमा प्रतिबन्धसँगै सूचना आदानप्रदान पनि थपिएको छ । निर्वाचन प्रभावित गर्ने खालको क्रियाकलाप लाई नियन्त्रण गर्न भारतबाट नेपाल आउने जोकोहीलाई पनि कडाईका साथ चेकजाँच गर्ने र दशगजा क्षेत्रमा कुनै पनि गतिविधि हुन नदिने विषयमा छलफल भएको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङ प्रमुख काशीराज दाहालको संयोजकत्वमा जोगबनी आईसिपीमा भएको उक्त सुरक्षा बैठकमा जिल्ला प्रसाशन कार्यालय सुनसरी प्रमुख इन्द्रदेव यादव, मोरङको सप्रजिअ शरदकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख शान्तिराज कोईराला, जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख प्रभु ढकाल, सशस्त्र प्रहरी बल नेपाल नं ३ गण प्रमुख राजकुमार लामिछाने थिए भने, सो कार्यक्रमलाई स्वागत गर्दै भारत बाट अररिया जिल्ला प्रमुख डिएम इनायत खान, एसएसबी ५६ वाहिनीका सेना नायक सुरेन्द्र विक्रम, अररिया एसएसबी कमान्डेन्ट ब्रजेश कुमार, एडीएम राजमोहन झा, अररिया डीएफओ नरेश प्रसाद, अररिया सिभिल सर्जन, विधान चन्द्र सिंह, शैलेश चन्द्र दिवाकर लगाएत पदाधिकारीहरु सहभागी थिए ।